२०८१ साउन १२, शनिवार , ०९:१०:३१ बजे

Sajhamanch
'

नारायणकाजी उपप्रधानमन्त्री ! रास्वपा र जनमतका नेता मन्त्री बन्ने, राप्रपा सरकारमा नजाने

सोमवार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री नै हो, मन्त्रालय के हुन्छ भन्ने विषयमा सत्ता गठबन्धनको बैठक पछि थाहा हुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।

सो पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा प्रचण्ड सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछाने कै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताएका छन् । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनको भनाई छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । उनले भनेका छन् ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

तर जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् । सर्वदलीय बैठकमा सहभागी हुन जाने क्रममा राउतले सरकारमा जाने बताएका हुन् । ‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन’ उनले भने तर ‘सरकारमा सहभागी बन्नेछौं।’

सरकारमा आफैं जाने वा नजाने भन्ने बारे भने यकिन भइनसकेको अध्यक्ष राउतले बताए । यद्यपी मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाएका छन् ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

पार्टीका अध्‍यक्ष रञ्जिता चौधरीले भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन। सरकारमा जान्नौं ।’

उनले माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको बताइन् ।

पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाएका थिए ।

सम्बन्धित खबर