२०८१ असोज ३, बिहिवार , ०७:३०:४२ बजे

Sajhamanch
'

हल्दिबारी नमूना माविमा साताव्यापी स्वर्ण महोत्सव हुँदै

बिहिवार, मंसिर २९, २०७९

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित विद्यालयको स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मूल समारोह समिति अन्तर्गत विभिन्न १९ वटा उपसमिति गठन गरिएका छन् ।

महोत्सव सञ्चालनको लागि कूल २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो विद्यालयका भूतपूर्व विद्यार्थी नरेन्द्र फागो सम्मिलित १० सदस्यीय अर्को समितिले गरेको आर्थिक सहयोग र घरदैलो समेतबाट हालसम्म २० लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । सो कार्यक्रमका लागि हल्दिबारी गाउँपालिकाले ३ लाख र २ नं वडा कार्यालयले १ लाख रुपैयाँ प्रदान गरेको प्रधानाध्यापक पाख्रिनले जानकारी दिए ।

महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, सम्मान, स्मारिका विमोचन, पुरस्कार वितरण र विद्यालय परिसरमा नवनिर्मित जग्गादाता माझीलाल राजवंशीको प्रतिमा तथा स्वर्ण महोत्सव स्तम्भ अनावरण कार्यक्रम रहेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा हुने महोत्सवको पहिलो दिनको उद्घाटन सत्रमा सो विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाता सरला राजवंशी लगायतलाई अभिनन्दन गरिनेछ । साथै विद्यालयलाई ५० हजार रुपैयाँभन्दा बढी रकम प्रदान गर्ने दाताहरूलाई सम्मान तथा गायिका मेलिना राईको मनोरञ्जनात्मक कार्यक्रम रहनेछ ।

त्यसैगरी, दोस्रो दिन सोही विद्यालयका पूर्व विद्यार्थी डा. समिर पौडेलद्वारा मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरणका साथै रक्तदान कार्यक्रम हुनेछ । स्वर्ण महोत्सवको तेस्रो दिन अन्तर–सदनात्मक खेलकुद प्रतियोगिता हुनेछ भने चौथो दिन अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता र ५ हजार रुपैयाँसम्म प्रदान गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पाँचौं दिन अन्तर मावि नृत्य प्रतियोगिता र ५ हजार १ देखि १० हजार रुपैयाँसम्मका दातालाई सम्मान, छैठौं दिन अभिभावकवर्गको खेलकुद र १० हजार १ देखि २५ हजार रुपैयाँसम्मका दातालाई सम्मान र समापनका दिन ७ गते पूर्व प्रधानाध्यापकहरु, पूर्व अभिभावक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष लगायतलाई सम्मानका साथै जेहेन्दार विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरी प्रोत्साहन गरिने र बृहत् सांस्कृतिक उत्सव हुने विद्यालय व्यस्थापन समितिका अध्यक्ष कुमार राईले जानकारी दिए ।

कक्षा १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाई हुने हल्दिबारी माध्यमिक विद्यालयमा हाल एक हजार ३२० जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ शिक्षक एवम् कर्मचारीसमेत गरी ५३ जना सेवारत रहेको अध्यक्ष राईले बताए । विद्यालयमा प्राविधिक शिक्षाको बाली विज्ञान विषय पनि पढाई भइरहेको उनले बताए ।

सम्बन्धित खबर