२०८१ साउन १२, शनिवार , १२:३६:५२ बजे

Sajhamanch
'

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाले दिए सोनाम ल्होसारको शुभकामना

बुधवार, माघ १९, २०७८

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपतिको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने जनाइएको छ ।

उनले यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास पनि लिएकी छन् ।

उपराष्ट्रपतिले तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको छ भन्दै भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध भएको सन्देशमा उल्लेख गरेका छन् ।

यसै गरी प्रधानमन्त्री देउवाले सम्पूर्ण तामाङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले मौलिक पुँजीका रूपमा रहेको नेपालको बहुसांस्कृतिक विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले मुलुकका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएकोसमेत बताएका छन् । पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खबर