२०८१ असोज ३, बिहिवार , ०९:५७:४९ बजे

Sajhamanch
'

झापाका सहकारीहरुको अब्बल सामाजिक उत्तरदायित्व

बुधवार, चैत २६, २०७६

एनएमसीबाट ३४ हजार केजी चामल ll सहारा नेपालबाट ५० लाखको खाद्यान्न ll

हाम्रो नेपाल साकोसबाट ५ लाख नौ हजार रुपैयाँ ll

झापा । झापाका सहकारी संस्थाहरुले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार अब्बल तरिकाले सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । धेरै सहकारी संस्थाहरुले हरेक स्थानीय तहमा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा विपन्न राहत कोषमा नगद प्रदान गर्नेक्रम निरन्तर छ । योसँगै केही सहकारी संस्थाहरुले चामल, दाल, तेल, नून, सागसब्जी, साबुनलगायत अत्यावश्यक सामग्रीहरु प्रदान गरेर विपन्न परिवारको बाँच्न पाउने अधिकारलाई संरक्षण गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म विभिन्न सहकारी संस्थाका मनकारी सञ्चालकहरुले विभिन्न स्थानीय तहमा वा आफ्ना शेयर सदस्यहरुमा र विपन्न वर्गमा राहतका कार्यक्रमहरु घोषणा गरेका छन् । जिल्लाभर कार्यक्षेत्र रहेको एनएमसी झापाले १५ वटै स्थानीय तहमा रहेका विपन्न परिवार तथा ज्याला मजदुरी गरीखाने वर्गलाई राहत वितरणका गर्नका लागि ३४ हजार केजी चामल तयार गरेको जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले झापाका १५ वटा पालिकालाई ३४ हजार केजी चामल राहत प्रदान गर्ने निर्णय गरेको जनाएका हुन् । विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियंत्रण एवम् रोकथामाका लागि सरकारले गरेको लकडाउनका कारण हातमुख जोड्न समस्या भएका वर्गको सहयोगार्थ संस्थाले चामल उपलब्ध गराउने निर्णय गरेको उप्रेतीले जनाएका छन् ।

पालिकाहरुलाई चामल वितरण गर्न संस्थाले १७ लाख रुपैयाँ विनियोजन गरेको जनाउँदै उनले चामल वितरणको कार्य सुरु भइसकेको जानकारी दिएका छन् । संस्थाको निर्णयानुसार मेचीनगर र बिर्तामोड नगरपालिकालाई ४००० केजीका दरले र अन्य १३ वटा पालिका प्रत्येकलाई २००० केजीका दरले मन्सुली चामल प्रदान गरिने छ ।

यसैगरी बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसको संक्रमण नियन्त्रण, व्यवस्थापन तथा राहत कोषका लागि विनियोजन गरेको पाँच लाख नौ हजार रुपैयाँ प्रदान गर्न शुरु गरेको छ ।

संस्थाको सेवा केन्द्र भएका स्थानीय तहलाई हाम्रो नेपालले सहयोग उपलब्ध गराउने निर्णय भए अनुसार मंगलबारदेखि रकम प्रदान गर्न थालेको हो । ती स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण विरुद्ध लड्न कोष स्थापना गर्दै विपन्न नागरिकका लागि राहतका कार्यक्रम अघि बढाएका छन् ।

कोरोना भाइरसविरुद्धको अभियानमा हाम्रो नेपालले आफ्नो कार्यक्षेत्रका स्थानीय तहलाई उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले बताए । ‘लक डाउनका कारण विपन्न वर्गमा खाद्यान्नको समस्या देखिएको छ’ अध्यक्ष दङ्गालले भने, ‘यसका कारण संस्थाका तर्फबाट सहयोग उपलब्ध गराइएको हो ।’

संस्थाको केन्द्रीय कार्यालय र शाखा कार्यालयसमेत रहेकाले बिर्तामोड नगरपालिकाको राहत कोषमा हाम्रो नेपालले १ लाख १ हजार रुपैयाँ सहयोग जम्मा गरेको छ । मङ्गलवार संस्थाका अध्यक्ष दंगाल लगायतको टोलीले नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाले मेचीनगर, भद्रपुर, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकालाई ५१ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । सो निर्णयआन्ुार आज बिहान भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठमार्फत भद्रपुर नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोगार्थ ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण गर्न संस्थाका अध्यक्ष दंगाल, सचिव विपी लामिछाने, लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णराज कट्वालसहितको टोली स्थानीय पालिकाहरु गइरहेका छन् ।

सहारा नेपालको अभियान

यसरी नै प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल साकोसले सुन्दरहरैचा नगरपालिकाकालाई १२०० केजी चामल, ५० केजी दाल र १ बोरा नून हस्तान्तरण गरेको छ । सुन्दरहरैचाका उपप्रमुख धनमाया तामाङलाई सहारा नेपाल साकोसका इलाका प्रमुख ओमप्रकाश साह, विराटचोक शाखाप्रमुख मोतिखर सञ्जेल र गोठगाउँ शाखाप्रमुख शान्ता काफ्लेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहारा नेपालले सामाजिक उत्तरदायित्व अन्तरगत ५० लाख रुपैयाँको खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सुरक्षाकवच प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि सहारा कर्मचारी मानवीय सहायता कोषबाट बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मीका लागि चारलाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो ।

संस्थाका इलाका प्रमुख ओम साहाले अस्पताल उद्घाटनका क्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाइ सो खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् । यस्तै प्रदेश १ कोरोना जनसुरक्षा कोषमा जम्मा हुनेगरी साहारा नेपालले मुख्यमन्त्री शेरधन राईलाई एक लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खबर