२०८१ मंसिर १२, बुधवार , १२:०१:१० बजे

Sajhamanch
'

कमल गाउँपालिकाका किसान गुणस्तरीय आलु उत्पादनमा जुटे

शुक्रवार, चैत ७, २०७६

कमल । पछिल्लो समय आलु खेतीबाट झापाको कमल गाउँपलिकाका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । आलु उत्पादनका लागि गाउँपालिकाले प्रविधिक सेवा, मलखादमा अनुदान दिएका कारणले आलु खेतीतर्फ कृषको आकर्षण बढेको हो ।

कमल गाउँपालिकाका वडा नम्वर १, २ र ४ का ११९ जना कृषक परिवारले ६६ विगाहाभन्दा बढी जमिनमा आलु खेती गरेर गुणस्तरीय उत्पादन अनि उचित बजारभाउ पाएपछि अन्य किसान परिवार पनि यसतर्फ आकर्षित भएका हुन् ।

ती कृषकहरु यतिबेला आफूले उत्पादन गरेको आलु बिक्री वितरणमा जुटेका छन् । ती कृषकले लगाएको आलु बारीबाट प्रतिकट्टा १० मनभन्दा बढी उत्पादन भएको र सो आलु अहिले बिक्री गरिरहेको कृषक याम सुब्बाले जानकारी दिए । पछिल्लो समय आलुको बजार राम्रो छ ।

‘हामीले उत्पादन गरेका सबै आलु उचित मूल्यमा व्यापारीले किनिदिएका छन् कृषक सुब्बा भन्छन्, ‘सहजै बजार पाउनुमा राम्रो गुणस्तरको आलु उत्पादन भएको र धेरै परिमाणमा उत्पादन हुनुले पनि बजार पाउन सहज भएको हो ।’

कृषकले आलु उत्पादनमा मल बिउ र विषादीमा राज्यबाट ५० प्रतिशत अनुदान पाएका थिए । उत्पादित आलु २५ रुपैयाँ प्रति केजीका दरले दमक, बिर्तामोड र बेलबारी लगायतका बजारमा बिक्री भइरहेको छ । उत्पादनले बजार पाएका कारण आलु उत्पादनमा कृषकको आकर्षण बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत आलु पकेट कार्यक्रमका सहसंयोजक टंक कट्टेलको भनाई छ ।

कमल गाउँपालिकालाई आलुको ब्लकमा स्तरोन्नति गर्दै कमल गाउँपालिलाई आलुमा आत्मनिर्भर बनाउने तर्फ गाउँपालिका लागेको गाउँपलिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरा बताउँछन् । उनका अनुसार कृषकलाई आलु उत्पादनमा गाउँपालिकाबाट प्राविधिक सेवाका साथै जैविक मल उत्पादन, रोगको उपचार लगायतका विषयमा आवश्यक सहयोग गरेको थियो ।

सम्बन्धित खबर