२०८१ असोज ३, बिहिवार , ०७:१४:५० बजे

Sajhamanch
'

मेची सहकारीको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतवार, माघ २६, २०७६

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि सुुरु गरेको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

संस्थाले आयोजना गरेको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम उर्लाबारीमा ३०० जना बढीको सहभागितामा शनिवार सम्पन्न गरेको हो ।

यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र उर्लाबारीको जलउपभोक्ता सहकारी संस्थाका सदस्यहरु समेतलाई सहकारिता बुझाउन १६ दिने सदस्य शिक्षा कार्यक्रम आयोजना गरिएको संस्थाका सूचना अधिकृत चन्द्रप्रसाद थापाले बताए ।

संस्थामा हाल ५ हजार ५३१ जना सदस्यहरु रहेका छन् । जसमध्ये उक्त कार्यक्रममा ३ हजार ४५० जना सदस्यहरु सहभागि भएका व्यवस्थापक खोमप्रसाद बगाले बताए ।

तालिममा व्यवस्थापक बगालेले वित्तीय साक्षरता र पारिवारिक बजेटका बारेमा सहजीकरण गरेका थिए भने संस्थाको परिचय र वित्तीय अवस्थाका बारेमा सूचना अधिकृत चन्द्रप्रसाद थापाले सहजीकरण गरेका हुन् । संस्था अन्तरगत शिक्षा तथा सदस्य छनोट उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा सबै दिनका तालिमहरु सञ्चालन गरिएको थापाले जानकारी दिए ।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गरिरहेको सेवा तथा सुविधाका बारेमा अध्यक्ष नारायणप्रसाद भट्टराईले अवगत गराएका थिए । सो विषयमा अध्यक्ष भट्टराईलाई शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य शुकदेव लुईंटेलले साथ दिएका थिए ।

यसैगरी सो तालिममा सहकारिता र व्यावसायिकताका विषयमा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य रुद्रबहादुर तामाङ्गले सहजीकरण गरेका थिए । तामाङले सहकारीको सदस्य बनेर कसरी आफ्नो जीवनस्तर माथि उठाउन सकिन्छ ? कस्तो व्यवसायमा हात हालियो भने सदस्यहरु स्वावलम्बी बन्न सक्छन् ? संस्थाले कस्तो व्यवसायिक परियोजनालाई कर्जा लगानी गर्ने गरेको छ जस्ता विषयमा सहजीकरण गरेका थिए ।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सदस्य सुनवाई कार्यक्रम गरी संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुका बारेमा अध्यक्ष लगायत सञ्चालकहरुलाई प्रश्न गर्ने तथा उत्तर लिने कार्य पनि गरिएको थियो ।

सम्बन्धित खबर