२०८३ जेठ १७ आइतवार , ०४:२३:०० बजे

Sajhamanch
'

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

आइतवार, जेठ १७, २०८३

काठमाडौं । अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी। रोजर्सले नेपालको शाहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आयोजित ’एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उपविदेशमन्त्री रोजर्सले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो ।

अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको शाहस र कौतुहलता रहेको उल्लेख गर्दै उहाँले सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर गरेको सगरमाथा आरोहणले दुई देशको सम्बन्ध थप प्रगाढ बनाएको स्मरण गर्नुभयो ।

उपविदेशमन्त्री रोजर्सले सन् २०२३ मा नेपाल आएका ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो ।

उहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो ।

रोजर्स ३ दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएको हो । गएको चैत १३ गते बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ ।

सम्बन्धित खबर