
झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार अमेरिकी डलरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाँटमा शंका लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्डमा खटिएको ९ जना र मेची भन्सार कार्यालयका ६ जना गरी कुल १५ जनाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पाठकको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन र ३० लाख ६५ हजार रुपैयाँ बराबरको २० हजार अमेरिकी डलर बरामद गरिएको छ।
यसका साथै उनको पासबाट ८५ हजार ४१० भारतीय रुपैयाँ, सवारी चालक अनुमति पत्र ९ड्राइभिङ लाइसेन्स०, आधार कार्ड, दुई थान मोबाइल ९भिभो र सामसुङ०, एउटा हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको छ।
पक्राउ परेका पाठकलाई आवश्यक कानुनी कारबाहीका लागि बरामद गरिएका सम्पूर्ण सामानसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ।


