
काठमाडौं । सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एशोसिएशनले ५ बुँदे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ ।
कानुन व्यवसायीहरूको छाता सङ्गठन बारको हिजो बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो ।
बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ । बारले आज दिउँसो सवा १ बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपिठ गर्ने आदेशविरुद्धको निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ । मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन ।
संवैधानिक परिषद्ले यसअघि सर्वोच्चका न्यायाधीश डा।मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्को यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख २५ मा रिट पेस गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।
त्यसपछि त्रिपाठी र सिलवालले दरपिठविरुद्धको निवेदन दिनुभएको थियो । त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधानन्यायाधीश मल्लसमक्ष पुगेको हो ।


