
काठमाडौं । सरकारले ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा दरखास्त आह्वान गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेको हो ।
रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिसँग दरखास्त आह्वान गरेको हो ।
समितिले ३१ वैशाख २०८३ मा स्वीकृत ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ।
इच्छुक तथा योग्य व्यक्तिले सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध लिकमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
कार्यविधि अनुसार उपकुलपति नियुक्तिको न्यूनतम योग्यता मान्यता प्राप्त विश्विद्यालय वा शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विज्ञानको कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर तह हासिल गरेको हुनुपर्ने छ ।
त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षण अस्पतलमा कम्तीमा १० वर्षको अनुभव भएको र प्राध्यापक भएको वा स्वास्थ्यको सेवाको एघारौं तह वा सो भन्दा माथिको पदमा कार्य गरेको अनुभव सहित कम्तिमा १० वर्षको प्राध्यापन गरेको अनुभव हुनेपर्ने कार्यविधिमा उल्लेख छ ।
प्राज्ञिक संस्थाको नेतृत्वदायी कार्यलय प्रमुख रही उत्कृष्ट व्यवस्थापकीय सिप, क्षमता र कौशल प्रदर्शन गरेको र राजनीतिक दलको सदस्य वा दलगत जिम्मेवारीमा नभएको हुनुपर्ने छ ।
त्यसैगरी मान्यता प्राप्त जर्नलमा प्रथम लेखक भई कम्तीमा २ वटा र सह लेखक भई कम्तीमा ४ वटा वैज्ञानिक अनुसन्धानमूलक लेख प्रकाशन गरेको हुनुपर्ने हुन्छ ।


