
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ४२० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको पावर हाउस र सुरुङ निर्माणको आज औपचारिक शिलान्यास भएको छ ।
खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालय प्रमुख हिमबहादुर खत्री, वडा–८ का अध्यक्ष नन्दबहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीलगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको हो ।
ऊर्जा तिला पावर कम्पनी प्रालिद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झन्डै ७० अर्ब रुपैयाँ रहने अनुमान गरेको आयोजनाका प्रतिनिधि चौधरीले बताउनुभयो । यो आयोजनाको सुरुङ तिलागुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्किनेछ ।
आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआब्जा वितरण गर्ने कार्य भइरहेको छ ।
मेयर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा छ ।


