२०८३ वैशाख २९ मङ्गलवार , ०९:२१:३९ बजे

Sajhamanch
'

पसल पसल पुगेर व्यवसाय दर्ता र नविकरण गराउँदै मेचीनगर

मङ्गलवार, वैशाख २९, २०८३

मेचीनगर । मेचीनगर नगरपालिकाले पसल पसल पुगेर व्यवसाय दर्ता अभियान सुरू गरेको छ ।

सोमबार काँकरभिट्टास्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सो अभियानको सुरूवात गरेका हुन् ।

उनले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर आफ्नो व्यवसाय सुरक्षित रूपमा सञ्चालन गर्न अनुरोध गरेका छन् ।

‘व्यवसाय दर्ता गरेर राज्यलाई कर तिर्नु पर्छ’ बुढाथोकीले भने– ‘दर्ता नगरी व्यवसाय गर्न पाइँदैन । कानुनले त्यसो नगर्न दिँदैन ।’

मेचीनगर नगरपालिकाले नगरका मुख्य बजारहरूमा व्यवसाय दर्ता नगरेका व्यवसायीहरूलाई व्यवसाय दर्ता सुविधाका लागि व्यवसाय दर्ता अभियान चलाएको हो ।

वडा नं. ६ को कार्यालय छेउ सब्जी बजारबाट सुरू गरिएको अभियान नगरका सबैतिर सँगसँगै सञ्चालन हुने जनाइएको छ । करिव १५ दिन सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिकको भवन, होटल व्यवसायीको भवन र पूर्व मेची बस व्यवसायी प्रालिको हलमा सेवा प्रवाह गरिने बताइएको छ ।

अभियानको सूरुवात राजश्व परामर्श समिति संयोजकसमेत रहेकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको थियो । उप्रेतीले राजश्व बढाउनेभन्दा पनि व्यवसाय दर्ता नगरेका सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने उदेश्य रहेको बताइन् ।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरु सीमा रसाइली, भविन्द्र सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, स्थानीय ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।

अभियानको सहजीकरण नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । उनले नगरमा नियमित कर तिर्ने १८ हजार करदाता रहेको जानकारी दिए । अझै ४८ प्रतिशत व्यवसायीले व्यवसाय दर्ता नगरेको उनको भनाई छ ।

आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म यो अभियान मेचीनगरका मुख्य–मुख्य बजारमा सञ्चालन हुने छ ।

सम्बन्धित खबर