२०८३ वैशाख २७ आइतवार , ०७:२८:२६ बजे

Sajhamanch
'

सदस्यको मृत्युपछि सिम्रिक र शिक्षा सहकारीद्वारा कर्जा मिनाहा

आइतवार, वैशाख २७, २०८३

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना ऋणि सदस्यको मृत्यु पछि परिवारमाझ पुगेर समवेदना अर्पण गर्दै तिर्न बाँकी रहेको ऋण मिनाहा गरिदिएका छन् ।

सिम्रिक साकोस शिवगञ्ज सेवा केन्द्रका शेयर सदस्य गंगावती ताजपुरियाको दुःखद निधनप्रति सिम्रिक परिवारद्वारा गहिरो दुःख व्यक्त गर्दै सदस्य परिवारमा केही हदसम्म आर्थिक राहत पुगोस् भन्ने उद्देश्यले संस्थामा तिर्न बाँकी रहेको १ लाख १५ हजार ८२४ रुपैयाँ ऋण मिनाहा गरिदिएको हो ।

संस्थाका विभागीय प्रमुख कृष्णप्रसाद कडरियाले ऋणि सदस्यको मृत्यु भएको जानकारी पाएपछि परिवारजनलाई भेटेर शोक व्यक्त गर्दै मृतक सदस्यले तिर्न बुझाउन बाँकी रहेको ऋण मिनाहा गरिएको पत्र हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी, बिर्तामोडमा मूख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि संस्थाका एकजना शेयर सदस्यको मृत्युपछि उहाँको नाममा बाँकी रहेको ऋण मिनाहा गरिएको छ ।

संस्थाका सदस्य बिर्तामोड–३ का बिरेन्द्र तामाङको मृत्युपछि उहाँकी श्रीमती अर्पणा थापा मगरलाई भेटेर एक लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले बताउनु भयो ।

तामाङको मृत्युपछि परिवार आर्थिक संकटको चपेटामा परेको भन्दै संस्थाले ९ महिना अघि लिएको ऋणबापतको सो रकम मिनाहा गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाको भनाई छ ।

कर्जा मिनाहासँगै संस्थाको मृत्यु संस्कार राहत खर्च वापत कार्यालयबाट १३ हजार १०० रुपैयाँ पनि उपलब्ध गराइएको थियो । कर्जा लिएको ९ महिनापछि २०८२ माघ २१ गते उहाँको निधन भएको थियो ।

मृतकले संस्थाबाट एक लाख ५० हजार रुपैयाँ ऋण लिनुभएको जनाइएको छ ।

सम्बन्धित खबर