२०८३ वैशाख २७ आइतवार , १०:३४:५४ बजे

Sajhamanch
'

झापामा विद्यार्थीका लागि ठूलो पुरस्कार राशीको निबन्ध प्रतियोगिता गरिँदै

शनिवार, वैशाख २६, २०८३

झापा । नीता भेटवाल स्मृति प्रतिष्ठानले सामुदायिक विद्यालयतर्फको जिल्लास्तरीय निवन्ध प्रतियोगिता गराउने भएको छ । प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै ठूलो धनराशीको प्रतियोगिता गराउन लागेको जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीका अनुसार माध्यमिक स्तर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच आयोजना गर्न लागेको यो प्रतियोगितामा प्रथम हुनेले ७० हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रतिष्ठानले दुई चरणमा प्रतियोगिता लेखन कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणमा झापाको पाँचवटै निर्वाचन क्षेत्रमा रहेका माविहरुबाट एक एक जना जेठ ९ गते हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुने र हरेक क्षेत्रबाट छनौट भएका उत्कृष्ट ३÷३ जनालाई जिल्लास्तरीय प्रतियोगितामा सामेल गराइने छ । झापाका ५ वटा क्षेत्रबाट छनौट भई आएका उत्कृष्ट १५ जनाबीच जिल्लास्तरीय प्रतियोगिता गराइने छ ।

त्यहाँबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय बाहेक अन्य १२ जनालाई पनि आकर्षक सान्त्वना पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ओलीले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणको निवन्ध प्रतियोगिताको शीर्षक शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु रहने दोस्रो चरणको शीर्षक पहिलो चरणको नतीजा प्रकाशित भएपछि जानकारी गराउने अध्यक्ष ओलीले जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रतियोगिता जेठ १६ गते बिर्तामोडस्थि कोहेड कलेजमा हुने छ ।

प्रतिष्ठानले सबै क्षेत्रमा प्रतियोगिता सञ्चालन गर्न केन्द्राध्यक्ष र सहजकर्ता, प्रतियोगिता स्थलको व्यवस्था गरेको छ । यसका साथै सबै पालिकाको शिक्षा शाखालाई समेत सहजीकरण गरिदिन प्रतिष्ठानले अनुरोध गरेको छ ।

प्रतिष्ठानले झापा क्षेत्र नम्बर १ (मेचीनगर)–को प्रतियोगिता केन्द्र मेनपा ८ स्थित आदर्श मावि इटाभट्टा, क्षेत्र नम्बर २ (अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति)–को प्रतियोगिता श्री देवी मावि बिर्तामोड, क्षेत्र नम्बर ३ (भद्रपुर, कचनकवल, बाह्रदशी र हल्दीबारी)–को प्रतियोगिता हल्दीबारी मावि, क्षेत्र नम्बर ४ (कनकाई, शिवसताक्षी, झापा)–को प्रतियोगिता कनकाई मावि सुरुङ्गा र क्षेत्र नम्बर ५ (दमक, कमल, गौरादह, गौरीगञ्ज)–को लेखन प्रतियोगिता सरस्वती मावि इटाभट्टा–दमक र जनता मावि गौरादहमा हुने व्यवस्था गरेको छ । लेखन प्रतियोगिता झापा ५ वटै निर्वाचन क्षेत्रमा जेठ ९ गते समय ११ बजेदेखि १ बजेसम्म हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिता सञ्चालनको लागि प्रतिष्ठानले झापा क्षेत्र नम्बर १ बाट केन्द्राध्यक्ष लम्बोदर पौडेल र सहजकर्ता डा.ठाकुरप्रसाद पोखरेल, क्षेत्र नम्बर २ बाट केन्द्राध्यक्ष लीलाप्रसाद अधिकारी र सहजकर्ता कृष्ण बराल, क्षेत्र नम्बर ३ बाट केन्द्राध्यक्ष चूडामणि बशिष्ठ र सहजकर्ता होम सुवेदी, क्षेत्र नम्बर ४ बाट केन्द्राध्यक्ष विष्णुप्रसाद कोइराला र क्षेत्र नम्बर ५ बाट केन्द्राध्यक्ष हेमनाथ अधिकारीलाई जिम्मेबारी दिएको विज्ञप्तिामा उल्लेख छ ।

हाल अमेरिका रहनु भएका झापा विर्तामोड निवासी विष्णुप्रसाद भेटवाल र विष्णुमाया भेटवालकी अल्पायु मै निधन भएकी सुपुत्री नीता भेटवालको स्मृतिमा स्थापित नीता भेटवाल स्मृति प्रतिष्ठानले हरेक वर्ष यस्ता रचनात्मक कार्यक्रम गर्ने जमर्को गरेको अध्यक्ष ओलीले बताउनु भयो ।

सम्बन्धित खबर