
काठमाडौं । पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ ।
साथै सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात साथै तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पर्सि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । मौसमविदहरूले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन् ।
प्रिमनसुनमा हावाहुरी र चट्याङसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।


