
मेचीनगर । मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार यसपटक कान्तिपुरका पत्रकार गणेशमान मुखियालाई प्रदान गरिने भएको छ ।
कान्तिपुर टेलिभिजन एचडीका झापा सम्वाददाता बिर्तामोड निवासी मुखियालाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको संघका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिनुभएको हो ।
यही वैशाख १९ गते धुलाबारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा हुने संघको २१औँ वार्षिक साधारण सभामा पत्रकार मुखियालाई नगद २१ हजार रुपैयाँसहित सम्मान गरिने संघका कार्यकारी निर्देशक गोपाल बस्नेतको भनाई उधृत गर्दै पत्रकार कार्कीले जानकारी दिनुभएको छ ।
पत्रकार मुखिया २३ वर्षदेखि कान्तिपुर टेलिभिजनको माध्यमबाट झापाको पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
उत्कृष्ट पत्रकार छनोट समितिका संयोजक एवम् संघका अध्यक्ष खेमराज प्रसाई, समितिका सदस्यहरु संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको उपस्थितिमा मंगलबार बसेको बठकले उक्त निर्णय गरेको हो ।
संघले यसअघि उक्त पुरस्कार पत्रकार गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले, मुक्ति पौडेल, अम्बिका भण्डारी, सुष्मा राजबंशीलाई प्रदान गरिसकेको छ ।
साधारण सभाको प्रमुख अतिथिका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल रहने जनाइएको छ ।


