
- रोहित काफ्ले
झापा । समाजमा साइकल संस्कृतिको प्रवर्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाज र भद्रपुर नगरपालिका वडा नं. ५ को संयुक्त आयोजनामा हुन लागेको टुर दि भद्रपुर साइकलयात्राको सबै तयारी पूरा भएको छ ।
आयोजक भद्रपुर साइकल समाजले आज भद्रपुर नगरपालिकाको सभाहलमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियात्मक भेला तथा पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिका, छिमेकी पालिकाहरु कचनकवल र हल्दिबारीका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण विभिन्न पुरातात्विक धार्मिकस्थल, पर्यटकीयस्थल एवम् वन तथा सिमसार क्षेत्र समेटिने गरी रुट तयार गरिएको छ ।
साइकल यात्रा यही बैशाख १८ गते भद्रपुर नगरपालिका कार्यालय परिसरबाट सुरु हुने आयोजक भद्पुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
यात्राका क्रममा भद्रपुरको पुरातात्विक ऐतिहासिक धार्मिकस्थल कीचकबध, कमलधाम संयुक्त धार्मिकस्थल, भद्रपरको दक्षिणी क्षेत्रका सिमसार क्षेत्र हुँदै नेपालकै सबैभन्दा होचो स्थान कचनकवल गोउँपालिकाको कचनकवल स्तम्भ जानेछ ।
सोपछि दुर्गाभिट्टा सामुदायिक वन, जैविक विविधताले भरिपूर्ण जलथल जंगल हुँदै हल्दिबारीको पाथीभरा कालिका सामुदायिक वन, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, भेलागुडी सिमसार, झोलुंगे पूल, कलबलगुरी प्रादेशिक, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुग्नेछ ।
उक्त साइकल यात्रा अपरान्ह चन्द्रगढीको महेन्द्र पार्कमा सकिने र साँझमा भद्रपुर–८ स्थित होटल डे–ग्लोमा सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम समापन गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
साइकलयात्रामा सहभागिताका लागि नेपालका विभिन्न ठाउँमात्र नभई भारत र भूटानसमेतबाट साइकल राइडरहरुले चासो देखाएर नाम दर्ता गराएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
करिब ६३ किलोमिटरको रहने यात्रामा २०० जना दर्तावाला राइडर र अन्य गरी करिब ३०० जना सहभागी हुने अपेक्षा गरिएको समाजका उपाध्यक्ष जीतु शर्माले जानकारी दिए ।

टुर दि भद्रपुरमा सहभागी हुन चाहनेका लागि शुल्कको पनि व्यवस्था गरिएको छ । समाजका कोषाध्यक्ष देवीबहादुर श्रेष्ठका अनुसार गैर आवासीय राइडरका लागि १ हजार १०० र आवासीय राइडरहरुका लागि १ हजार ६०० रुपैयाँ सहभागिता शुल्क तोकिएको छ । हालसम्म २०० राइडरले नाम दर्ता गराएको सो अवसरमा जानकारी दिइयो ।
साइकलयात्रीहरुलाई यात्राका दौरान कुनै पनि प्रकारको असुविधा नहुने गरी आवश्यक सबै किसिमका सामग्री र सेवाहरुको व्यवस्थापन मिलाइएको समाजका सदस्य समिर पोखरेलले जानकारी दिए ।
स्वस्थ तथा प्रदूषणमुक्त समाज निर्माण, आन्तरिक पर्यटन प्रवर्धन एवम् नेपालको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको पहिचान थप उजागर गर्ने उद्देश्यले टुर दि भद्रपुर आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की, वडा न ५ का वडाध्यक्ष बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले टुर दि भद्रपुरको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा साइकलयात्रीका लागि तयार पारिएको जर्सी पनि सार्वजनिक गरिएको थियो ।


