२०८३ वैशाख ११ शुक्रवार , ०८:२०:३३ बजे

Sajhamanch
'

दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ए ले ओमानलाई फराकिलो अन्तरले जित्यो

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । नेपाल ए टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा शानदार जित निकाल्दै २ खेलको शृंखला १–१ को बराबरीमा टुंग्याएको छ ।

बुधबार भएको पहिलो खेलमा खराब ब्याटिङका कारण फराकिलो हार बेहोरेको नेपालले आज भने फराकिलो जित निकाल्न सफल भयो । यसक्रममा नेपालले पहिलो खेलमा देखिएका कमजोरीमा सुधार समेत गर्‍यो ।

मध्यक्रम ब्याटिङमा शानदार प्रदर्शन गरेको नेपाल ‘ए’ ले बलिङमार्फत सुरुवातदेखि नै ओमानलाई दबाबमा राखेको थियो । १० ओभरभित्रै ३ विकेट लिएको नेपालले त्यसपछि कप्तान जतिन्दरको विकेट लिँदै ओमानलाई धराशायी बनाएको थियो । अन्ततः ओमानमाथि १०० रनमाथिको अन्तरले जित निकाल्न सफल भयो ।

खेलअघि टसमा कप्तान अनिल साहले २८० आसपासको योगफल बनाउने बताएका थिए । सोही योजना अनुरुप नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए ले २८४ रनको योगफल खडा गरेको थियो ।

इशान पान्डेले पहिलो खेलकै लय दोहोर्‍याउँदै लगातार दोस्रो अर्धशतक प्रहार गरे । ठूलो स्कोरबाट भने चुकेका उनी ६९ रनको संयमित पारी खेल्दा प्लेयर अफ द म्याच समेत घोषित भए ।

पीएम कपमा शानदार प्रदर्शन गरेका युवा खेलाडी समेट्दै तयार पारिएको नेपाल ए को टोलीले एसोसियट क्रिकेटमा नेपालको परिचित प्रतिद्वन्द्वी ओमानको सिनियर टोलीलाई पराजित गर्दै एउटा स्टेटमेन्ट नै दिएको छ ।

ब्याटर इशान पान्डेले पनि यो एउटा ‘स्टेटमेन्ट’ जित भएको टिप्पणी गरे । ‘हामीलाई नथिङ टु लुज थियो, हामीले ओमानलाई १०० रनभन्दा बढी अन्तरले हराउनु भनेको एउटा स्टेटमेन्ट नै हो’ इशानले भने ।

सम्बन्धित खबर