
झापा । कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) खर्च बढ्दै जाँदा सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले झन्डै ८ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । मेटाले एआई परियोजनाहरूमा पहिलेभन्दा धेरै खर्च गर्दैगर्दा अर्को महिना हजारौँ रोजगारी कटौती गर्ने बीबीसीले जनाएको छ ।
मेटाले हिजो कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झन्डै १० प्रतिशत कटौती गर्ने उल्लेख छ । यसको मुख्य कारण एआई परियोजनामा बढ्दो लगानी हो ।
मेटाले यस वर्ष एआईमा झन्डै १ खर्ब ३५ अर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेको छ जुन अघिल्ला ३ वर्षको कुल खर्च बराबर रहेको खबरमा उल्लेख छ ।
यसअघि कम्पनीका सह–संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एआईका कारण काम गर्ने तरिकामा व्यापक परिवर्तन आउने सङ्केत दिनुभएको थियो ।
मेटाले सन् २०२२ यता पटक–पटक कर्मचारी कटौती गर्दै आएको छ । पछिल्ला महिनाहरूमा कम्पनीले एआई मोडेल र उपकरण विकासमा ध्यान केन्द्रित गरेको छ ।


