२०८३ वैशाख ११ शुक्रवार , ०७:५५:३३ बजे

Sajhamanch
'

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

नयाँ सरकार गठनपछि देशमा स्थिरता र लगानीको अनुकूल वातावरण बन्ने अपेक्षा गरेको बेला उद्यमी–व्यवसायीमाथि भइरहेका धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व र पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

उनीहरूले लाखौँ रोजगारी, आपूर्ति शृङ्खला, बैंकिंङ क्षेत्र र सम्पूर्ण प्रणालीमा यस्ता धरपकडले गम्भीर धक्का पुग्ने भन्दै अर्थतन्त्र सङ्कटमा पर्न नदिन सरकारसँग अनुरोध गरेका छन् ।

निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बेला भइरहेका धरपकडले निजी क्षेत्रलाई थप सशङ्कित बनाएको भन्दै विज्ञप्तिमा सरकारले नेपालको संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै उक्त नीति प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिएको छ ।

प्रहरीले हिजो व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेपछि यो विज्ञप्ति आएको हो ।

सम्बन्धित खबर