
काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत आज महिलातर्फ २ र पुरुषतर्फ ३ गरी ५ वटा खेल हुँदैछन् ।
महिलातर्फको पहिलो खेलमा बिहान ९ बजे न्यु डायमन्ड क्लब र सुदूरपश्चिम क्लबबीच प्रतिस्पर्धा हुँदैछ । महिलातर्फको दोस्रो खेल एपीएफ र एभरेस्ट भलिबल क्लबबीच बिहान ११ बजे हुनेछ ।
यस्तै पुरुषतर्फ दिउँसो १ बजे पुलिस क्लब र कोशी प्रदेश, दिउँसो ३ बजे रुकुम पश्चिम र एपीएफ क्लब तथा बेलुका ५ बजे त्रिभुवन आर्मी क्लब र बुढानीलकण्ठ क्लबबीच खेल हुनेछ । खेलहरू त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्ड हलमा हुनेछन् ।
खेलको पहिलो दिन हिजो ४ वटा खेल भएका थिए । जसमा महिलातर्फ एपीएफ र नेपाल पुलिस क्लब तथा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् ।
नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा हिजोदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । लिग प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
एनभीए भलिबल लिगका उत्कृष्ट महिला र पुरुष टोलीले सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।


