२०८३ वैशाख ९ बुधवार , १०:५८:२८ बजे

Sajhamanch
'

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति गगन थापा सहभागी हुने

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुनेछन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९:५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र बिहान १०:३० बजेदेखि समीक्षा कार्यक्रम सुरु गर्ने तयारी गरिएको पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।

उनका अनुसार पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो । कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् ।कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको भइरहेको छ ।

पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने जनाएको छ । साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशिल सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रदेशस्तरका समीक्षा कार्यक्रमलाई केवल चुनावी हार–जीतको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

सम्बन्धित खबर