
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले आज दिउँसोदेखि हर्मुज जलमार्गमा नाकाबन्दी गर्ने जनाएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत हर्मुज जलमार्गमा सबै जहाजहरूको आवागमन रोक्ने बताउनुभएको छ ।
अमेरिकी सेनाले इरानबाहेकका अरु बन्दरगाहतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूलाई भने अवरोध नगर्ने जनाएको छ । तर, इरानसँग सम्बन्धित वा शुल्क तिरेर हर्मुज पार गर्ने जहाजहरूलाई रोक्ने र जाँच गर्ने भनिएको छ ।
हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट झण्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ । यस क्षेत्रमा कुनै पनि अवरोधले विश्व बजारमा तेलको मूल्य वृद्धि र आर्थिक अस्थिरता निम्त्याउने सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।
अमेरिका र इरानबीच हिजो इस्लामाबादमा भएको उच्चस्तरीय शान्ति वार्ता असफल भएपछि अवस्था थप तनावपूर्ण बनेको हो । राष्ट्रपति ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाउनुभएको छ ।
तर, इरानी पक्षले भने सम्झौता नजिक पुगेको दाबी गर्दै अमेरिकाले धेरै मागहरू राखेकाले सहमति हुन नसकेको आरोप लगाएको छ । इरानको सेनाले हर्मुज क्षेत्रमा कुनै पनि सैन्य जहाज प्रवेश गरेमा त्यसलाई युद्धविराम उल्लङ्घन मानिने र कडा कारबाही गरिने चेतावनी दिएको छ ।
विज्ञहरूले विश्वव्यापी ऊर्जा संकट गहिरिन सक्ने र यसले अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खलामा पनि गम्भीर असर पर्न सक्ने बताएका छन् ।


