
काठमाडौँ । प्रतिनिधि सभाको १३औँ उपसभामुखमा शुक्रबार श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भइन् । प्रतिनिधि सभा बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा २७५ सदस्यीय प्रतिनिधि सभाका २५६ सांसदले मतदान गरे । जसमध्ये ठाकुरको पक्षमा २२९, विपक्षमा ५ र तटस्थ २२ मत पर्यो ।
नेपालको लोकतान्त्रिक इतिहासमा २०१५ सालदेखि अहिलेसम्म १३ उपसभामुख भएका छन् । उपसभामुख हुनेमा ७ महिला र ६ पुरुष छन् । उपसभामुख हुने पुरुषमा महेन्द्रनारायण निधि, महन्थ ठाकुर, रामविलास यादव, भोजराज जोशी र गंगाप्रसाद यादव छन् । उपसभामुख हुने महिलामा लिला श्रेष्ठ सुब्बा, चित्रलेखा यादव, पूर्णाकुमारी सुवेदी, ओनसरी घर्ती, डा.शिवमाया तुम्बाहाङ्फे, पुष्पा भुसाल, इन्दिरा रानामगर र रुबीकुमारी ठाकुर छन् ।
दलगत हिसाबमा हेर्ने हो भने ७ पार्टीबाट अहिलेसम्म उपससभामुख भएका छन् । नेपाली कांग्रेसबाट ४, नेकपा एमालेबाट ३, नेकपा माओवादीबाट २, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीबाट १/१ जना उपसभामुख भएका छन् ।
कांग्रेसबाट महेन्द्र नारायण निधि, महन्थ ठाकुर, चित्रलेखा यादव र पुष्पा भुसाल उपसभामुख भए । पहिला कांग्रेसबाट राजनीति गर्ने ठाकुर अहिले जनता समाजवादी पार्टी, नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य छन् ।
एमालेबाट लिला श्रेष्ठ सुब्बा, भोजराज जोशी र डा. शिवमाया तुम्बाहाङ्फे उपसभामुख भए । नेकपा माओवादीबाट पूर्णाकुमारी सुवेदी र ओनसरी घर्ती उपसभामुख भए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामविलास यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गंगाप्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानामगर र श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर उपसभामुख भए ।
२०१६ सालको पहिलो प्रतिनिधि सभादेखि २०८२ सम्म भएका उपसभामुख र उनीहरूको कार्यकाल विवरण यस्तो छ–
नेपालमा २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ मत ल्याएको थियो । त्यो बेलामा कांग्रेसले महेन्द्रनारायण निधिलाई उपसभामुख बनायो । उनी नै नेपालको पहिलो उपसभामुख हुन् । निधिले २०१६ साल चैत १८ गतेदेखि २०१७ पुस १ गतेसम्म उपसभामुख भएर काम गरेका थिए ।
त्यसपछि नेपालमा २०४८ सालमा मात्रै संसदीय निर्वाचन भयो । त्यो निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्यो । बहुमत प्राप्त गरेको कांग्रेसले उपसभामुखमा महन्थ ठाकुरलाई स्थान दियो । उनी नेपालको दोस्रो उपसभामुख हुन् । २०४६ सालमा बहुदल स्थापना भएपछि सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि उपसभामुख भएका ठाकुरको कार्यकाल २०४८ साल असार ०९ गते देखि २०५१ साल पुस २ गतेसम्म रहेको संघीय संसद् सचिवालयको अभिलेखमा देखिन्छ ।
२०५१ सालमा मध्यावधि निर्वाचन भयो । त्यो निर्वाचनमा कुनै पनि पार्टीको बहुमत आएन । एमाले पहिलो पार्टीमा उक्लिँदा कांग्रेस दोस्रोमा झर्यो । तेस्रोमा पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख बनाउने मौका पायो । त्यो पार्टीबाट रामविलास यादव उपसभामुख बने । यादवले २०५१ पुस ०३ देखि २०५४ असोज २७ गतेसम्म उपसभामुख भएर काम गरे । कुनै पनि पार्टीको बहुमत नभएकाले राजनीतिक समीकरण फेरिँदा यादव संसदको पूरा कार्यकाल उपसभामुख बन्न पाएनन् ।
बिचैमा राजनीतिक गठजोड परिवर्तन भएपछि संसदको त्यही कार्यकालमा एमालेकी सांसद लीला श्रेष्ठ सुब्बा उपसभामुख बनिन् । समग्रमा चौथो उपसभामुख सुब्बाले पहिलो महिला उपसभामुख बन्ने अवसर पाइन् । ०५५ वैशाख २३ गते उपसभामुखको कार्यभार सम्हालेकी सुब्बाले ०५५ असोज २४ गतेसम्म मात्रै काम गर्न पाइन् ।
सुब्बा उपसभामुख भएको बेलामा एमालेले सभामुख रहेका रामचन्द्र पौडेलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो । त्यो बेला उपसभामुखले महाअभियोग प्रस्तावको छलफलको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था थियो, तर एमालेको बहुमत थिएन । त्यसपछि सुब्बा पदबाट हटिन् र संसदको त्यही कार्यकालमा एमाले फुटेर बनेको नेकपा मालेका सांसद भोजराज जोशीले उपसभामुख बन्ने अवसर पाए । ०५५ असोज २८ गते उपसभामुख चयन भएर कार्यकाल सुरु गरेका जोशीले पदीय हैसियतमा ०५५ चैत ०९ गतेसम्म काम गर्न पाए । जोशी पाँचौँ उपसभामुख भए ।
२०५६ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत ल्यायो । यस पटक कांग्रेस नेतृ चित्रलेखा यादवले उपसभामुख बन्ने अवसर प्राप्त गरिन् । २०५६ असार १५ मा उपसभामुख चयन भएकी यादवले २०६३ माघ ०३ गतेसम्म पदीय हैसियतमा बसेर काम गरिन् । उनको कार्यकालमा माओवादी सशस्त्र द्वन्द्व र शाही शासन आयो । यादवले शाही शासनको बेलामा सडकबाटै सभामुखको रूपमा संसद सञ्चालन गरेकी थिइन् । उनी दोस्रो महिला उपसभामुख र समग्रमा छैँटौँ उपसभामुख बनिन् ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा १० वर्षे सशस्त्र द्वन्द्वपछि राष्ट्रिय राजनीतिमा आएर संसदमा भाग लिएको नेकपा माओवादी पहिलो दल बन्यो । त्यही पार्टीकी नेतृ पूर्णाकुमारी सुवेदी सातौँ सभामुख बनिन् । सुवेदी २०६५ मंसिर १३ गतेदेखि २०७० मंसिर ०४ गतेसम्म उपसभामुख भएर काम गरिन् । यसले प्रतिनिधि सभाको समेत काम गरेको थियो ।
०७० सालमा प्रतिनिधि सभाको समेत काम गर्नेगरी दोस्रो संविधान सभा निर्वाचन सम्पन्न भयो । त्यो निर्वाचनमा २०६४ को निर्वाचनमा पहिलो दल बनेको माओवादी तेस्रो दलमा झर्यो । तर, दलीय भागबण्डामा माओवादीले उपसभामुख पायो र त्यो पार्टीकी नेतृ ओनसरी घर्तीले उपसभामुख बन्ने अवसर पाइन् । उनी आँठौँ उपसभामुख हुन् । ०७० फागुन १४ उपसभामुख भएकी घर्तीले ०७२ असोज २७ गतेसम्म पदीय हैसियतमा काम गरिन् ।
दोस्रो संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी भयो । संविधान जारी भएपछि सभामुख र उपसभामुख फेरिए । उपसभामुख रहेकी घर्ती सभामुखमा उक्लिइन् । त्यसपछि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गंगाप्रसाद यादव उपसभामुख बने । उनी नवौँ उपसभामुख थिए । २०७२ असोज २७ उपसभामुखको कार्यभार सम्हालेका यादवले २०७४ असोज २९ गतेसम्म पदीय हैसियतमा काम गरे ।
नयाँ संविधानअनुसार २०७४ सालमा प्रतिनिधि सभा निर्वाचन भयो । त्यो निर्वाचनमा एमाले र तत्कालीन माओवादी मिलेर सहज बहुमत प्राप्त गरे । त्यसपछि नेकपा एमालेकी नेतृ डा.शिवमाया तुम्बाहाङ्फे १०औँ उपसभामुख बनिन् । २०७४ चैत ४ गते उपसभामुख निर्वाचित उनले २०७६ माघ ०६ गतेसम्म उपसभामुखको हैसियतमा काम गरिन् । उनले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि लामो समय कार्यवाहक सभामुखको भूमिका समेत निर्वाह गर्ने अवसर पाइन् । उनले बिचैमा उपसभामुखबाट राजीनामा दिइन् ।
त्यसपछि संसदको त्यही कार्यकालमा कांग्रेस नेतृ पुष्पा भुसाल उपसभामुख बनिन् । २०७९ असार ३१ गते उपसभामुख बनेकी भुसालले ०७९ असोज ०१ गतेसम्म पदीय हैसियतमा काम गरिन् ।
२०७९ को निर्वाचनमा पनि कुनै पार्टीको बहुमत आएन । दलहरूबिच सत्ता र संवैधानिक पदहरूमा भागबण्डा हुँदा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा उपसभामुख पर्यो र त्यो पार्टीकी सांसद इन्दिरा रानामगर उपसभामुख बनिन् । २०७९ माघ ७ गते उपसभामुख निर्वाचित भएकी रानामगरले पदीय हैसियतमा ०८२ माघ ५ गतेसम्म काम गरिन् ।
त्यो प्रतिनिधि सभा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका कारण विघटन भयो र फागुन २१ गते निर्वाचन भयो । निर्वाचनपछि पाँचौँ ठुलो दल श्रम संस्कृति पार्टीकी सांसद ठाकुर उपसभामुख बनेकी छन् ।
यस्तो छ अहिलेसम्मका उपसभामुख र उनीहरूको कार्यकाल
१) महेन्द्रनारायण निधि
कार्यकाल : २०१६/१२/१८ देखि २०१७/०९/०१
२) महन्थ ठाकुर
कार्यकालः २०४८/०३/०९ देखि २०५१/०९/०२
३) रामविलास यादव
कार्यकालः २०५१/०९/०३ देखि २०५४/०६/२७
४) लिला सुब्बा श्रेष्ठ
कार्यकालः २०५५/०१/२३ देखि २०५५/०६/२४
५) भोजराज जोशी
कार्यकालः २०५५/०६/२८ देखि २०५५/१२/०९
६) चित्रलेखा यादव
कार्यकालः २०५६/०३/१५ देखि २०६३/१०/०३
७) पूर्णाकुमारी सुवेदी
कार्यकालः २०६४/०८/१३ देखि २०७०/०८/०४
८) ओनसरी घर्ती
कार्यकालः २०७०/११/१४ देखि २०७२/०६/२७
९) गंगाप्रसाद यादव
कार्यकालः २०७२/०६/२७ देखि २०७४/०६/२९
१०) डा. शिवमाया तुम्वाहाङ्फे
कार्यकालः २०७४/१२/०४ देखि २०७६/१०/०६
११) पुष्पा भुसाल
कार्यकालः २०७९/०३/३१ देखि २०७९/०६/०१
१२) इन्दिरा रानामगर
कार्यकालः २०७९/१०/०९ देखि २०८२/१०/०५
१३) रुबी कुमारी ठाकुर
कार्यकालः २०८२ चैत २७ गतेदेखि…


