
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
आज सार्वजनिक भएको ‘एशियाली विकास परिदृश्य’ अनुसार यो दर सन् २०२५ को तुलनामा १ दशमलव ९ प्रतिशतले कम हो । गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत थियो ।
गएको भदौको आन्दोलनबाट सिर्जित राजनीतिक तनाव र मध्यपूर्वको द्वन्द्वका कारण आर्थिक वृद्धिदर कमजोर रहने एडीबीको ठहर छ । एडीबीले ढिलो मनसुन र अक्टोबरमा आएको अप्रत्याशित बाढीले कृषि क्षेत्रलाई नराम्ररी प्रभावित पारेको उल्लेख गरेको छ ।
यस्तै अर्को वर्ष आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन सुधारसँगै वृद्धिदर ५ प्रतिशत पुग्ने अनुमान छ । राजनीतिक स्थायित्वले सुधारलाई अघि बढाउँदै अर्थतन्त्रमा आत्मविश्वास बढाउने एडीबीको भनाइ छ ।
यसैगरी सन् २०२६ मा उपभोक्ता मुद्रास्फीति दर झन्डै ३ दशमलव ७ प्रतिशत रहने अनुमान छ । दक्षिण एशियामा भने यस वर्ष भूटान र भारतको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ६ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण छ । माल्दिभ्सको सबैभन्दा कम १ प्रतिशत रहने अपेक्षा छ ।



