२०८२ चैत २७ शुक्रवार , ०१:२९:०५ बजे

Sajhamanch
'

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ भाउ बढेको छ । यस्तै निगमले हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले भाउ बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाण्डौ उपत्यकासहित तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ ।

यस्तै पहिलो वर्गमा पेट्रोलको भाउ २१६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ २०४ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्गमा पेट्रोलको भाउ २१८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको २०६ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि भाउ बढाउनुपरेको निगमको दाबी छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह पनि गरेको छ ।

सम्बन्धित खबर