
काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
महरासँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालत स्रोतले जानकारी दियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा पूर्व सभामुख महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।
पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।


