
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ दारेगौरा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ अँधेरे जोड्ने भेरी नदी माथिको पुल निर्माण १३ वर्षदेखि अलपत्र परेको छ ।
भेरी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने रणनीतिक महत्वको पुल एक दशकभन्दा बढी समयदेखि अलपत्र हुनुले राज्यको अक्षमता प्रदर्शन गरिरहेको स्थानीय बताउँछन् ।
भेरी नगरपालिका–१३ का वडाध्यक्ष यज्ञबहादुर बटालाले नागरिकको समस्याप्रति राज्यपक्षले बेवास्ता गरेको आरोप लगाए । ‘पुल नबन्दा जाजरकोट मध्यपहाडी लोकमार्गसँग जोडिन सकेको छैन,’ उनले भने, ‘बिरामीलाई रुकुमपश्चिमको चौरजहारीस्थित अस्पताल लैजा्ने र अन्य काम परे पनि नागरिकले सास्ती भोग्नुपरेको छ । दु:ख देखेर पनि नदेखेझैँ गर्नेहरूले झन् पीडा दिएका छन् ।’ उनका अनुसार स्थानीयले सामाजिक सञ्जाल र अन्य तरिकाले निरन्तर दबाब सिर्जना गरे पनि राज्य संयन्त्रले प्रतिक्रिया दिएको छैन ।
पुल निर्माणका लागि २०६९ सालमा वाईपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार पुल २०७२ सालमै तयार हुनुपर्ने थियो । तर काम अघि नबढेपछि २०७९ मंसिर २९ गते ठेक्का रद्द गरिएको थियो ।
ठेक्का रद्दसँगै ७२ लाख रुपैयाँ धरौटी र २ करोड ६० लाख रुपैयाँ पेस्की जफत गरिएको थियो । साथै, सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार कम्पनीलाई ८ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना तोकिएको थियो ।
पुल निर्माण सम्पन्न गर्ने प्रयासमा तीन पटकसम्म ठेक्का आह्वान गरिए पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
दोस्रो पटक आह्वान गरिएको ठेक्कामा उच्च लागत प्रस्ताव आएपछि सम्झौता हुन सकेन भने तेस्रो पटक कुनै पनि कम्पनीले प्रस्ताव पेश नगरेको कार्यालयले जनाएको छ ।
मध्यपहाडी राजमार्ग योजना कार्यालय, दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार पुल निर्माणका लागि संशोधित डिजाइनसहित नयाँ ठेक्काको प्रस्ताव सडक विभागमा पठाइएको छ । नदीको बहाव क्षेत्र बढेकाले तटबन्धसहितको नयाँ डिजाइन तयार गरिएको उनले बताए । तर ठेक्का स्वीकृति अझै हुन सकेको छैन ।
यो पुल भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी–रारा राजमार्ग जोड्ने प्रमुख संरचना हो । तर पुल निर्माण स्थलमा दुवैतर्फ पिल्लर मात्र खडा छन् । निर्माण कार्यमा थप प्रगति नहुँदा जाजरकोट र रुकुपश्चिम बीचको सिधा यातायात सम्पर्क अझै स्थापित हुन सकेको छैन ।
पुल निर्माण नहुँदा सडक स्तरोन्नति र कालोपत्रे कार्य समेत प्रभावित भएको छ । रुकुम पश्चिम खण्डबाट जाजरकोटसम्म सवारी साधन आवतजावत गर्ने मार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
हाल वैकल्पिक रूपमा बेलिब्रिज निर्माण गर्ने प्रयास पनि सफल हुन सकेको छैन ।


