२०८२ चैत २६ बिहिवार , ०१:४७:०६ बजे

Sajhamanch
'

३ वर्षमा निर्माण सक्नुपर्ने सडक ५ वर्षसम्म अधुरै, धुलोले जनजीवन प्रभावित

बिहिवार, चैत २६, २०८२

सप्तरी । सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्मको सडकखण्ड विस्तारमा ढिलासुस्ती भएको छ । निर्माधीण सडकबाट उत्पन्न धुलोका कारण सडक छेउछाउका बस्तीमा असर परेको छ ।

सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । लामो समयसम्म काम नसकिँदा स्थानीयले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

तीन वर्षभित्र काम सक्नुपर्ने गरी सम्झौता भएकोमा पाँच वर्ष बितिसक्दा पनि निर्माणाधीन चार लेन सडकको काम सकिएको छैन । सडक निर्माणको काम पूरा नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको छ ।

समयमै आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको छ स्थानीयवासीको गुनासो छ । रूपनीका श्याम यादवले धुलोका कारण निकै समस्या भएको बताउँदै रुघाखोकीको चपेटामा पर्ने गरेको बताए । उनले विद्यालय जाने बालबालिका समस्यामा परेको बताउनु भयो ।

पाँच वर्षमा सडक विस्तारको काम सम्पन्न नहुनु राज्यको प्रशासनीक निकायको चरम लापरबाही भएको कंचनपुरका रिझन यादवले बताउनु भयो । उहाँले ढिलासुस्ती गरेको आयोजनाको लागत बढाइएको आरोपसमेत लगाउनु भयो । समयमै निर्माण सक्न चासो नदिएको उनको गुनासो छ ।

यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो । सन् २०२० अक्टोबरदेखि निर्माण कार्य सुरु भएको थियो ।

योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् सन् २०२३ अक्टोबरसम्ममा ८६.८२ किलोमिटर लामो यो सडकखण्ड विस्तार गरिसक्नुपर्ने थियो । तर, निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप गरिसकिएको छ।

पहिलोपटक १४ महिना, दोस्रोपटक १२ महिना र हालै तेस्रो पटक ६ महिना थपेर निर्माण अवधि आगामी सन् २०२६ जुनसम्म पुर्‍याइएको छ । आयोजनाको कूल लागत भेरिएसन स्वीकृत भई करिब १६ अर्ब आठ करोड ५० लाख पुगेको छ, जसमा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ ।

आयोजनाको पश्चमी खण्डका प्रमुख उज्वल श्रेष्ठका अनुसार पश्चिमी खण्डको ७०।७ भौतिक प्रगति र ५७.५४ प्रतिशत वित्तीय प्रगति रहेको जानकारी दिनुभयो । उहाँले समयमा काम नसकाए ठेक्का तोड्ने सहितको चेतावनी निर्माण कम्पनीलाई दिइएको जानकारी दिनुभयो ।

आयोजनाको पूर्वी खण्डका प्रमुख निरज शाक्यका अनुसार आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत रहेको जानकारी दिनुभयो । कार्यालय प्रमुख शाक्यले पछिल्लो समयमा महँगी बढेपछि काममा निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको बताउनु भयो। उहाँले निरन्तर ताकेता गरिरहेको बताउनु भयो ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार पछिल्लो समय निमार्ण कम्पनीले मुख्य कामहरू गरेको छैन । सामान्य रूपमा पानी छर्किने जस्ता कामहरू मात्रै गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सडक विस्तारको सुस्त गतिले रूपनी, कठौना, कल्याणपुर, बिसनपुर लहान र मिर्चैया, गोलबजार जस्ता बजार क्षेत्र धुलाम्य बनेका छन् । स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।