
काठमाडौं । प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ ।
२०४६ साल चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले शुरू गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो ।
त्यही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनः स्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन शुरू भएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणा गर्नुभएको थियो ।


