२०८२ चैत २५ बुधवार , ०६:३२:२७ बजे

Sajhamanch
'

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

बुधवार, चैत २५, २०८२

काठमाडौं । यही चैत २७ मा उपसभामुखको निर्वाचन हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिनु भएको हो ।

यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।

उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । तर, प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एक भन्दा बढी दल भएपनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।

प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।

यसकारण अब रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुन्छन् ।

सम्बन्धित खबर