२०८२ चैत २५ बुधवार , ०८:१२:३४ बजे

Sajhamanch
'

मध्यपहाडी लोकमार्गको कालोपत्रेमा हेलचेक्रयाइँ

बुधवार, चैत २५, २०८२

पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु रहेको नेपाल भारतको सिमाना चिवा भञ्ज्याङ्गदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्ने काममा ठेकेदारले चरम हेलचेक्र्याइँ गरेको छ । ठेक्का लागेको पाँच वर्ष भइसक्दा पनि कालोपत्रे पूरा हुन सकेको छैन ।

२०७७ सालमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लगाइएको थियो । तर पाँच वर्ष वितिसक्दा पनि कतिपय खण्डमा कालोपत्रे काम सुरु नै हुन सकेको छैन ।

भारतको सिक्किमसँग जोडिने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदारको चरम लापबाही भएको याङ्वरक–१ का वडा अध्यक्ष राजेन्द्र खालिङ बताउँछन् ।

आयोजनाको कामले गति नपाउँदा लोकमार्गको राष्ट्रिय लक्ष प्रभावित भएको छ भने कालोपत्रे भएर सुविधा पाइन्छ भनेर आस गरेका स्थानीय बासिन्दा निराश बन्दै गएका छन् । त्यतिमात्र होइन ठेकेदारले काम नगर्दा हरेक वर्ष विनियोजित बजेट फ्रिज हुने गरेको लोकमार्गको फिदिम आयोजना कार्यालयले जानकारी दिएको छ ।

आयोजना कार्यालयका अनुसार रोशन–शिवशक्ति जोभीले ठेक्का पाएको  पहिलो खण्डमा २७ प्रतिशतमात्र काम भएको छ । यो खण्ड १६ किलोमिटरको छ ।

सन्तोषी शिवशक्ति जेभीले ठेक्का पाएको दोस्रो खण्डमा १५ प्रतिशतमात्र काम भएको छ । यो खण्ड १७ किलोमिटर छ ।

यसैगरी रोशन शिवशक्ति जेभीले ठेक्का पाएको १७ दशमलव ६४७ किलोमिटर तेस्रो खण्डमा ५० प्रतिशत मात्र काम भएको छ ।

‘ठेकेदारबाट समयमा काम नहुँदा कालोपत्रेको काम अवरुद्ध भएको छ । २०७९ मंसिरमा सकिनुपर्ने काम अहिलेसम्म भएको छैन,’ फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्र भन्छन् ।

पटक पटक ताकेता गर्दा पनि काममा प्रगति नभएपछि दोस्रो खण्डको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ‘दोस्रो खण्ड सन्तोषी शिवशक्ति जेभीको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौँ । बाँकी दुई खण्डमा ठेकेदार सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता गरेकाले म्याद थप्ने प्रक्रिया अघि बढेको छ ।’

चालु आर्थिक वर्षको ९ महिना वितिसक्दा पनि प्रगति शून्य छ । गत वर्ष ५२ करोड बजेट मध्ये १६ करोड मात्र खर्च भएको थियो । चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि बजेट खर्च भएको छैन । कार्यालयका इन्जिनियर शिवराम प्रसाद देवका अनुसार यो आर्थिक वर्षमा पनि ५२ करोड बजेट छ ।

तेह्रथुम खण्डमा उस्तै

तेह्रथुम खण्डमा पनि उस्तै लापर्बाही भएको छ । तेह्रथुमको संक्रान्ति–म्याङ्लुङ खण्डको २४ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । तेह्रथुमका अरू खण्डमा भने कालोपत्रे भइसकेको छ । यही खण्डको १४ दशमलव ४० किलोमिटरको ठेक्का तोडिएको थियो । तर यसको पुन: ठेक्का लागेको छैन ।

तेह्रथुममा २०७२ सालमा कालोपत्रे गर्ने ठेक्का लगाइएको काम अझै सकिएको छैन । कन्टेक/गौरी/पार्वती/कोशी जेभीले ठेक्का लिएको १० किलोमीटर सडक कालोपत्रे गर्ने काम दश वर्षमा पनि पुरा भएको छैन । ३९ करोड १८ लाखमा ठेक्का लागेको उक्त कामको प्रगति ७५ प्रतिशत छ । कामका लागि पटक–पटक ताकेता गरिएको प्रमुख मिश्र बताउँछन् ।

यही खण्डमा २०८० जेठमा तीनवटा ठेक्का तोडिएको थियो । १४ दशमलव ४० किलोमिटर सडकको कालोपत्रे गर्ने कामले गति नपाएपछि ठेक्का तोडिएको थियो । भारत/मैनाचुली/सिद्धी साई कम्पनीको ठेक्का तोडिएको थियो । ठेक्का तोडिएपछि पुन: ठेक्का नलग्दा कालोपत्रे गर्ने काम अन्योलमा परेको छ ।

सम्बन्धित खबर