
काठमाडौं । १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने र आइतबार शैक्षिक संस्था बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरू अलमलमा छन् ।
२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारको निर्णयले वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा अन्योल भएको छ । यसअघि १ वैशाखबाट नयाँ शैक्षिकसत्र सञ्चालन हुने गरेको थियो ।
मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण शैक्षिकसत्र सारिएको हो । ‘क्याबिनेटले निर्णय गर्दा पेट्रोलियम पदार्थका कारण सारिएको भनिएको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भन्नुभयो ।
शैक्षिक क्यालेन्डर मिलाउने तयारी
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय पनि गरेको थियो । शैक्षिकसत्र सार्दा र आइतबार पनि बिदा दिँदा क्यालेन्डर प्रभावित हुन नदिन मन्त्रालयले कार्ययोजना बनाउँदै छ ।
‘हप्तामा दुई दिन बिदा हुँदा क्रेडिट आवर पनि मिलाउनु पर्छ । स्थानीय बिदा कटौती र शुक्रबार पूरै समय पढाउनु पर्ने अवस्था आउँछ,’ ती अधिकारीले भन्नुभयो ।
तर, पाठ्यक्रम विकास केन्द्रका अनुसार क्रेडिट आवरमा समस्या नहुने बताएको छ । ‘२०८३ वैशाख १५ बाट शैक्षिकसत्र सुरु भएर २०८४ वैशाखसम्मको शैक्षिकसत्र हुन्छ । क्रेडिट आवरमा प्रभावित हुँदैन,’ केन्द्रका महानिर्देशक युवराज पौडेलले भने, ‘क्यालेन्डर मिलाए हुन्छ ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार १५ गतेबाट शैक्षिकसत्र सुरु भएपछि विद्यार्थी भर्ना पनि सोही दिनबाट गर्ने तयारी छ । ‘छलफल गरिरहेका छौँ । भोलि वा पर्सिसम्म निर्णय आउँछ । १५ गतेबाट नै भर्ना गर्ने तयारी छ,’ केन्द्रका निर्देशक युवराज पौडेलले भन्नुभयो ।
पाठ्यपुस्तक सयममै
जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रका लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइसकेको जनाएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलले बताउनु भयो ।
‘विद्यार्थी संख्याको आधारमा प्रादेशिक कार्यालयमा पर्याप्त पुस्तक पुगिसकेको छ । १४–१५ लाखको दरले पुस्तक प्रदेश–प्रदेशमा लगिएको छ,’ उहाँले भन्नुभयो ।
प्रदेश कार्यालयबाट १ हजार २६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पाठ्यपुस्तक पुर्याउने छन् । केन्द्रले कक्षा १, २ र ४ बाहेकको पुस्तक छाप्ने गरेको छ । यी कक्षाको पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने गरेको छ । ‘कक्षा सञ्चालन हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्छ । कुनै अभाव हुदैन,’ प्रबन्धक पौडेलले भन्नुभयो ।
उहाँले २१ फागुनको चुनावले पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको बताउनु भयो ।


