
महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ ।
यो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
प्रहरीले अहिलेसम्म ज्यान गुमाउने तथा घाइते कसैको पनि परिचय नखुलेको र मोटरसाइकल पनि पूर्णरूपमा जलेर नम्बरप्लेटसमेत नदेखिने अवस्थामा रहेको बताएको छ ।
आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका–५ मा रहेको बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ती विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फर्किरहेका थिए ।


