२०८२ चैत २३ सोमवार , ०७:४६:०६ बजे

Sajhamanch
'

तेल उत्पादन बढाउन ‘ओपेक प्लस’ सहमत

सोमवार, चैत २३, २०८२

झापा । इन्धन उत्पादक सदस्य राष्ट्रहरूको सङ्गठन ‘ओपेक प्लस’ तेल उत्पादन कोटा बढाउन सहमत भएको छ ।

मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भइरहेका बेला ‘ओपेक प्लस’ ले आउँदो मे महिनादेखि दैनिक २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउन सहमत भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

‘ओपेक प्लस’ का साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, काजकिस्तान, अल्जेरिया र ओमानले भर्चुअल बैठकका क्रममा तेल उत्पादन कोटा बढाउन सहमति जनाएका हुन् ।

आठ देशले ऊर्जा पूर्वाधारमा आक्रमणको बारेमा पनि चिन्ता व्यक्त गरेका छन् । क्षतिग्रस्त ऊर्जा पूर्वाधारहरूलाई पूर्ण क्षमतामा पुनर्स्थापित गर्न महँगो र लामो समय लाग्ने उनीहरूले बताएका छन् ।

इरानमा चलिरहेको युद्ध र इरानले प्रतिशोधका लागि मध्यपूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको र विश्व बजारको झन्डै २० प्रतिशत इन्धन आपूर्ति हुने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाट आवतजावतमा इरानले लगाएको प्रतिबन्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य आकाशिएको छ ।

इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानले खाडी देशका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिँदै आएको छ भने अमेरिकाले हर्मुजलाई आजसम्ममा जहाजहरूको आवागमनका लागि खुला नगरे नयाँ चरणको थप आक्रामक कारबाही थाल्ने चेतावनी दिएको छ ।

सम्बन्धित खबर