
काठमाडौं । नेकपा (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने भएको छ । संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले सो जानकारी गराएको हो ।
बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरुसँग भन्नुभयो, ‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा हामी लाग्छौं । जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय छ । हामी त्यस विषयमा आवाज बुलन्द गर्ने छौं ।’
संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरु सही रुपले प्रयोग गर्न सकौं भनेर सरकारलाई खबरदारी गर्ने जानकारी उहाँले दिनुभयो । अन्यथा सरकारको प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो ।
‘त्यस विषयमा सरकार कुनै ढंगले विघ्नबाधा नल्याओस् । बिघ्नबाधा सरकारले ल्याए हामी प्रतिवाद गर्नेछौं,’ उहाँले भन्नुभयो ।


