२०८२ चैत १९ बिहिवार , ०८:४५:१३ बजे

Sajhamanch
'

आयु नै नपुगी भत्किन्छन् पुल, कहाँ छ त्रुटि

बिहिवार, चैत १९, २०८२

पाँचथर । गत मङ्गलबार राति मध्यपहाडी लोकमार्गस्थित पाँचथरको मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल भाँचिए ।

यी पुल यही बर्खामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको थियो । दुवै पुल बाढीका कारण भाँचिएको इन्जिनियरहरूले बताएका छन् ।

हरेक वर्ष पूर्वका पाँचथर, इलाम, ताप्लेजुङलगायत जिल्लामा बाढीले पुल बगाउने, क्षति पुर्‍याउने जस्ता घटना हुँदै आएका छन् । जसका कारण सर्वसाधारणले सास्ती खेप्नुका साथै सरकारी लगानीमा क्षति भइरहेको छ ।

वर्षेनी पुल तथा बेलिब्रिज बाढीले बगाउने र क्षति पुग्दै आएका कारण निर्माणको प्रविधि नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने प्रश्न उब्जिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने मेवाखोलाको पुल २०८० असारमा आएको बाढीले बगाएको थियो । सोही स्थानमा निर्माणाधीन पुलमा अहले पुनः क्षति पुगेको हो । त्यतिबेला बाढीले पाँचथरमा पाँच वटा पुल बगाएको थियो ।

‘ठेक्काको म्यादभन्दा अगाडि नै सक्ने गरी काम भएको थियो । ढलान सकिएको थियो । चैतमा बाढी आएर स्टेजिङमा क्षति पुर्‍याउँदा पुल भाँचिएको छ,’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमका इन्जिनियर शिवरामप्रसाद देवले भने, ‘केही हप्तापछि नै गाडी कुद्ने पुल तयार हुने अवस्थामा थियो ।’

लोकमार्गको ओयाम खोला र फलामे खोलाको पुल २०८१ असारमा बगाएको थियो । पाँचथर, ताप्लेजुङ, इलाममा धेरै वटा पुल बाढीले बगाइसकेको छ ।

यही वर्षको साउनमा ताप्लेजुङको हेल्लोक खोलामा रहेको बेलिब्रिज बाढीले बगायो । २०८० सालमा पाँचथरको हेवाखोलाका चार वटा मोटरेबल पुल बगे । मेची राजमार्गको हेवाखोलामा राखिएको बेलिब्रिज पुनः २०८१ असोजको बाढीले बगाएर मोडुलर ब्रिज बनाइएको छ ।

२०८१ सालको बाढीले फिदिम–फालोट सडकखण्डको फेमे खोला र त्रिवेणी खोलाको पुल बगायो । यस्तै मुवा खोलाको पुल बगाउँदा धर्मेटारमा खोलाको धार नै बदलिएको छ । ‘फिदिम–फालोट सडकखण्डअन्तर्गत मुवाखोलाको पुल पनि बगायो । धर्मेटारमा एकतिर पुल छ भने अर्कोतिर खोला बग्छ,’ फालेलुङ–५ का वडाध्यक्ष भरत खपाङ्गीले भने, ‘बर्खायाममा स्थानीयलाई साह्रै समस्या पर्छ ।’

यही वर्ष असोज १७ देखि १९ गतेसम्म भएको वर्षाका कारण इलाममा चार वटा पुलमा गाडी चलाउन नमिल्ने गरी क्षति पुग्यो । पाँचथरमा शिवा खोला, निवु खोलाको पुलमा क्षति पुर्‍यायो । इलामबाट झापा झर्ने छिटो भनिएको बेलासेको बाटोमा वर्षायाममा पुल नहुँदा गाडी चल्ने सम्भावना छैन ।

‘पानी पर्ने शैली बद्लिएको छ । चैत, असोज, कात्तिकमा आएको बाढीले पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुग्नुको कारणबारे अध्ययन आवश्यक छ,’ सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराई भन्छन्, ‘जतासुकै सडक तथा पूर्वाधार बनाउने, गोलिया काट्ने जस्ता कारण पनि छन् । मानव निर्मित कारणले पनि असर पुर्‍याइरहेको छ ।’

पहाडमा बनाइएका र बन्ने क्रममा रहेका पुल बाढीले हरेक वर्ष क्षति गरिरहेको छ । १०० वर्षको बाढी अनुमान गरेर बनाइएका पुल केही वर्षमै बगिरहेका छन् । पानी पर्ने तरिका बदलिँदै गएको छ । विगतभन्दा फरक समयमा वर्षा हुने तथा एकै ठाउँ ठूलो वर्षा हुने गरेको छ । यसको विस्तृत अध्ययन हुन् आवश्यक रहेको पूर्वाधार विकास कार्यालय पाँचथरमा प्रमुख शैलेन्द्र सिं बताउँछन् ।

पहाडमा बनाइएका पुलमा त्रुटि छ कि, डिजाइन परिवर्तन गर्ने कि भन्ने प्रश्न उठिरहेको छ ।

के भन्छन् विज्ञ ?

पछिल्ला वर्षका घटनाहरू हेर्दा डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था देखिएको पुल डिजाइन विज्ञ सकिल मानन्धर बताउँछन् । ‘जति बाढी आउँछ भनेर हामीले अनुमान गरेका हुन्छौँ, त्यो भन्दा बढी नै बाढी आएर पुल भत्काइरहेको छ । पानीको मात्रा बढी मात्र होइन, पानीसँगै ढुङ्गा, माटो बगेर आउँछ । यसलाई हामीले जलवायु परिवर्तनसँग जोड्ने गरेका छौँ,’ मानन्धर भन्छन्, ‘बगेका ठाउँमा अब नयाँ पुल बनाउँदा यी विषयलाई ध्यान दिनुपर्छ । बाढीको अनुमानभन्दा पनि बढाएर पुल बनाउनुपर्छ ।

१० अगाडि चुरेका फेदमा बनेका, पहाडको काखमा रहेका पुल प्रभावित भएको उनी बताउँछन् । ‘विगत तीन वर्ष यता चैत-वैशाख तथा दशैंको बेला पानी परिरहेको छ । समयभन्दा अगाडि आएको पानीले धेरै पुल बगाइरहेको छ । हाम्रो निर्माणको काम मंसिर-पुसमा सुरु हुन्छ । चैतमा पानी पर्न सुरु हुन्छ,’ उनले भने ‘अब प्रविधि नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने देखिन्छ । कहिले पानी पर्छ भन्ने ठेगान नभएको तथा खोला डाइभर्ट गर्न नसक्ने ठाउँमा प्रविधि परिवर्तन गर्नुपर्छ ।’

खोलामा बसेर काम गर्ने कुरा घटाउँदै जानु पर्ने उनी बताउँछन् । दायाँ-बायाँको पिलर बाहिरै बनाएर ल्याएर जोड्नुपर्ने उनी बताउँछन् । छुट्टाछुट्टै बिम बनाएर जोड्नुपर्ने अवस्था आएको मानन्धरले बताए ।

पुनःनिर्माणमा समस्या, अधुरा छन् पुल

विभिन्न समयमा बगाएका, भत्काएका पुलको पुनः निर्माणमा ढिलाइ भइरहेको छ । इलाम तथा पाँचथरमा बनेका सबै पुलको पुनः निर्माणको काम अघि बढेको छैन । हेवाको दुई स्थानमा बेलिब्रिज राखे पनि अरू बाँकी नै छन् ।

मुवा, त्रिवेणीलगायतका खोलामा पुल बनेका छैनन् । मध्यपहाडी लोकमार्गका बाँकी पुल र ग्रामीण क्षेत्र जोड्ने पुलको पुनः निर्माणका लागि बजेट विनियोजित भएको छैन । मेची राजमार्गको हेवाखोलामा मुडुलर (ब्रिज) राखिए पनि स्थायी पुल बनाउने ठेक्का लागेको छैन ।

निर्माणाधीन पुलको काममा पनि ढिलाइ भइरहेको छ । कतै बजेट बजेट अभाव देखाइएको छ भने कतै ठेकेदारले काममा ढिलाइ गरिराखेका छन् ।

तेह्रथुम र पाँचथर जोड्ने तमोर लुमुघाटको पुल निर्माण थालिएको १३ वर्षमा पनि सम्पन्न भएको छैन । अनेक दबाब दिँदा पनि काम भएको छैन ।

उत्तर-दक्षिण लोकमार्गमा २०७४ सालमै ठेक्का लागेको लिम्बुनी पुलको काम पनि सकिएको छैन । हाक्पारा पुलको अवस्था पनि उस्तै छ ।

तमोर करिडोरको मुलघाट–अमरपुर खण्डमा पनि पुलको काममा ढिलाइ भइरहेको छ । पुल नहुँदा वर्षा याममा गाडी चलाउन समस्या हुने गर्छ । मेची राजमार्ग अवरुद्ध हुँदा उपयुक्त विकल्प भए पनि पुलका कारण समस्या छ ।

पुल सेक्टर आयोजना कार्यालय इटहरी इन्जिनियर नवीन साहका अनुसार ८ वटा पुलमध्ये पाँच वटाको मात्र काम भइरहेको छ । सबै पुलको ठेक्काको म्याद सकिएको छ तर काम भएको छैन ।

२०७८ सालमा ठेक्का लागेका पुलको प्रगति कमजोर देखिन्छ । नावाखोलाको पुलको प्रगति बल्ल ३९ प्रतिशत भएको छ । लखुवा खोलामा ३० प्रतिशत, रघुवामा २६, छरुवामा ६७ र कबुवामा २५ प्रतिशत मात्र प्रगति भएको छ । हेवा, लोरिपा र बगुवा खोलामा काम नै सुरु भएको छैन ।

सम्बन्धित खबर