
झापा । नापी विभागले आफ्ना मातहतका कार्यालयमा बिचौलियाको प्रवेश रोक्न परिचयपत्र अनिवार्य गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशाानुसार विभागले परिचय खुल्ने कागजात हेरेर मात्रै कार्यालयमा प्रवेश गर्न दिन मातहतका निकायलाई पत्राचार गरेको हो ।
हिजो बसेको मन्त्रालयको सचिवस्तरको बैठकले बिचौलियालाई प्रवेश निषेध गर्ने, अनधिकृत व्यक्तिलाई सरकारी अभिलेखमा पहुँच नदिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । सोहीअनुरुप मन्त्रालयले हिजै मातहतका कार्यालय, विभागलाई पत्र पठाएको हो ।
मन्त्रालयको पत्र प्राप्त भएलगत्तै विभागले सबै विशेष नापी कार्यालय, नापी कार्यालय, बनेपा (डिजिटल) लगायतलाई पत्राचार गर्दै निर्देशन कडाइका साथ कार्यान्वयन गर्न भनेको छ ।
निर्देशन कार्यान्वयन भए–नभएको सम्बन्धमा जुनसुकै बेला अनुगमन हुने उल्लेख गर्दै विभागले कार्यान्वयन नभएको पाइएमा त्यसको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने पनि स्पष्ट पारेको छ ।
‘अनधिकृत व्यक्तिहरु (बिचौलिया) लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउने साथै त्यस्ता अनधिकृत व्यक्तिहरुलाई सरकारी अभिलेख कागजातमा पहुँच नदिने व्यवस्था तत्काल मिलाउनुहुन मिति २०८२–१२–१८ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ’,पत्रमा उल्लेख छ ।
साथै, कर्मचारीहरुलाई अनिवार्य रुपमा परिचयपत्र लगाएर बस्न, कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन निर्देशन दिइएको छ ।


