२०८२ चैत १८ बुधवार , ०९:३९:०४ बजे

Sajhamanch
'

मार्चमा भित्रिए १ लाख २० हजारभन्दा बढी पर्यटक

बुधवार, चैत १८, २०८२

काठमाडौं । मार्च २०२६ मा १ लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली देशबाट आउने पर्यटक संख्यामा उल्लेख्य वृद्धि देखिएको छ ।

तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो ।

यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारत पहिलो स्थानमा छ ।

त्यस्तै चीनबाट ११ हजार २२०, म्यानमार ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८९७ पर्यटक आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ ।

समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटक संख्या स्थिर देखिन्छ ।

पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि, एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटक संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ ।

मार्च २०२५ मा १ लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३५१ आगमन भएको थियो । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४४१ पर्यटक आएका थिए ।

मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजन लगायतले आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किएको युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकले जारी गरेको ‘ट्राभल एडभाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

विशेषगरी यो सिजनमा अरू महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि आगमन तथ्यांक निराशाजनक नभएको बताए ।

‘युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारत लगायत छिमेकी देशबाट पर्यटक आगमन बढ्नु सकारात्मक संकेत हो,’ उहाँले भन्नुभयो, ‘हामीले पनि छिमेकी बजारलाई क्यास गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, यसका साथै युरोप र अमेरिका जस्ता उच्च खर्च गर्ने पर्यटक लक्षित बजारमा पनि हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौं ।’

सीईओ जोशीले हालको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नभए पनि ढुक्क भएर बस्ने स्थिति पनि नभएको बताउनु भयो । ‘विशेषगरी पश्चिम एसियामा विकसित परिस्थिति अनिश्चित बन्दै जाँदा आगामी दिनमा विश्व पर्यटन बजारलाई नै असर पार्न सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पर्यटन बोर्डले सन्तुलित र दिगो रणनीति सहित वैकल्पिक बजार विस्तार रणनीति बनाएको छ ।’

सम्बन्धित खबर