२०८२ चैत १८ बुधवार , ०४:१३:१४ बजे

Sajhamanch
'

कम्बोडियाबाट थप ८ जना नेपालीको उद्धार

बुधवार, चैत १८, २०८२

काठमाडौं । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थप ८ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी स्वदेश पठाइएको छ ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका ८ जना नेपालीको थाइल्याण्डमा रहेको नेपाली दुतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो ।

यसैगरी अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने पहल भइरहेको छ । यसअघि अस्ति १२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको थियो । दूतावासले समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरेको छ ।

दूतावासले रोजगारीका लागि विदेश जाने नेपालीलाई प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया पूरा गरेर मात्र विदेश जान आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण सूचनाबाट सचेत रहन पनि अनुरोध गरिएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नेपालबाट नजान दूतावासले आग्रह गरेको छ ।