२०८२ चैत १७ मङ्गलवार , ०१:४७:२९ बजे

Sajhamanch
'

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

मङ्गलवार, चैत १७, २०८२

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।

हरियालीले ढाकिएको पहाडको काखैभरि बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले पर्यटकहरूलाई आकर्षित गर्न थालेको हो ।

भोजपुर नगरपालिका-१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो-ओरालोमा दर्जनौँ घुम्ती पर्ने गरी निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले गाडी पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो ।

माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् ।

स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन पनि सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार-व्यवसाय पनि विस्तार हुन थालेको छ ।

सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ ।

सम्बन्धित खबर