२०८२ चैत १७ मङ्गलवार , ०१:०६:२३ बजे

Sajhamanch
'

अधिवक्ता कार्कीको एकाउन्ट निल गर्दै ह्याकरले लुट्यो रकम

सोमवार, चैत १६, २०८२
  • गोपाल काफ्ले

झापा । ‘नयाँ यूगमा नयाँ प्रविधिबाट डकैती गरी मेरो सबै चल सम्पत्ति चोरियो’— आवाजमा आक्रोश र पीडाको गहिरो कम्पन मिसाउँदै झापाको भद्रपुर १० का बासिन्दा अधिवक्ता पवन कार्कीले भन्नुभयो, “चैत १२ गते अपरान्ह ४ः३५ बजेको समयमा ईसेवा मार्फत् मेरा सबै एकाउन्ट ह्याक गरियो र ७–८ वटा बैंक तथा वित्तीय संस्थामा रहेको रकम खल्ती एपमा डाइभर्ट गरियो।”

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै सहजता बढे पनि झापामा घटेको यो घटनाले प्रयोगकर्ताको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रविधिको माध्यमबाट प्रयोगकर्तामाथि ‘अदृश्य डकैती’ हुन थालेको यो घटनाले पुष्टी गरेको छ। अधिवक्ता कार्कीको एकाउन्ट निल गर्दै ह्याकरले भएभरको रकम लुटेपछि अहिले उहाँ बिलखबन्दमा परेको सुनाउनु हुन्छ ।

पिडीत कार्कीका अनुसार घटना चैत १२ गते अपरान्ह ४ः३५ बजेको समयमा भएको हो। “कसैले फोन गरेर ईसेवा खोल्न माग्यो। मैले किन चाहियो, तपाईं को हो भनेर प्रश्न गर्दागर्दै करिब ३० सेकेण्डजति कुरा भयो” अधिवक्ता कार्कीले भन्नुभयो, “मैले कुनै कोड पनि दिन परेन, तर त्यही ३० सेकेण्डभित्र मेरो मोवाइल नम्बर जोडिएका सबै एकाउन्ट ह्याक गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको रकम निल गर्दै खल्ती एपमा सारिएछ ।”

विडम्बना त के भएछ भने, चैत १३ गते रामनवमीको सार्वजनिक बिदा र १४ गते शनिबारको साप्ताहिक बिदाका कारण समयमै घटनाबारे थाहा पाउन नसकेको उहाँ बताउनु हुन्छ । उहाँका अनुसार, चैत १५ गते आइतबार अपरान्हमात्र आफ्नो खाताबाट रकम हराएको जानकारी भएको हो ।

प्रारम्भिक विवरणअनुसार कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कर्णाली बचत तथा ऋण सहकारी संस्था लगायतका खाताबाट रकम झिकेर अत्यन्त न्यून मौज्दात (एक रुपैयाँभन्दा कम)मात्र बाँकी राखिएको पाइएको छ। यद्यपि, सबै बैंक तथा वित्तीय संस्थाबाट विवरण संकलन भइरहेकाले कति रकम चोरी भयो भन्ने यकिन अझै हुन नसकेको उहाँ बताउनु हुन्छ ।

घटनापछि कार्कीले जिल्ला प्रहरी कार्यालय झापामा पुगेर जाहेरी दर्ता गराइसक्नुभएको जानकारी दिनुभयो । “सबै बैंक तथा वित्तीय संस्थाबाट विवरण संकलन गरेर बुझाउनुपर्ने रहेछ, म त्यसैमा जुटिरहेको छु, अनिमात्र अनुसन्धान सुरु हुने रहेछ” उहाँले बताउनुभयो।

यो घटनाले डिजिटल भुक्तानी प्रणालीप्रति प्रयोगकर्ताको भरोसामाथि गम्भीर धक्का दिएको छ। सहज, छिटो र सुरक्षित भनिएका डिजिटल पेमेन्ट गेटवे प्लेटफर्म प्रयोग गर्दा नै प्रयोगकर्ताको सम्पूर्ण बचत एकै झट्कामा गायब हुनु, प्रणालीको सुरक्षा व्यवस्था माथि ठूला प्रश्न उठाउने विषय बनेको छ।

प्रविधिको नाममा भइरहेको यस्ता ‘डिजिटल डकैती’प्रति सम्बन्धित एप सञ्चालक तथा वित्तीय निकायहरू जिम्मेवार बन्नुपर्ने माग पीडित पक्षले अघि सारेका छन्। प्रयोगकर्ताको खातामा भएको रकमको सुरक्षा सुनिश्चित गर्नु उनीहरूको पहिलो दायित्व भएकाले यस्ता घटनामा केवल प्रयोगकर्तालाई दोषी ठहर गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने आवाज पनि उठ्न थालेको छ।

घटनाले एउटा कठोर सन्देश दिएको छ— प्रविधि जति सजिलो हुँदैछ, यदि त्यसको सुरक्षामा कमजोरी रह्यो भने त्यति नै असुरक्षित पनि बन्न सक्छ । अब प्रश्न केवल एक व्यक्तिको गुमेको रकमको होइन, लाखौँ प्रयोगकर्ताको विश्वास र भरोसा पनि टुट्न सक्छ । यसैले डिजिटल पेमेन्ट गेटवेहरुले प्रयोगकर्ताको वित्तीय सुरक्षाका लागि भरपर्दो प्रबन्ध गर्न जरुरी छ ।

एआई निर्मित सांकेतिक तस्वीर

सम्बन्धित खबर