
काठमाडौं । आज विश्व क्षयरोग दिवस, ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका नेपालमा पनि चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।
नेपालले अबको ९ वर्ष अर्थात २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भुवन पौडेलका अनुसार एक वर्षमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।
सक्रिय उमेर समूहमै यो रोगको संक्रमण बढी भएकाले अरुमा सर्ने जोखिम पनि धेरै रहेको केन्द्रले जनाएको छ । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी र २८ प्रतिशतमा फोक्सोबाहेक अरु अङ्गमा क्षयरोग देखिने गरेको छ । लगातार खोकी लाग्ने, ज्वरो आउने, रोग लागेको लामो समयपछि खोकीमा रगत देखापर्ने, तौल घट्ने र छाती दुख्ने वा असजिलो महसुस हुने जस्ता लक्षण देखा परेमा जाँच गर्न छातीरोग विशेषज्ञ डा. पुष्पा मल्लको सुझाव छ । क्षयरोगबाट बच्नका लागि चुरोट तथा रक्सी नखान, बढी धुवाँ वा धुलोबाट बच्न, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्न, बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउन र क्षयरोग लागेका व्यक्तिबाट अरुमा सर्ने भएकाले साबधानी अपनाउन विज्ञको सुझाव छ ।
क्षयरोग नियन्त्रणका लागि सरकारले छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको छ । १४२ संस्थामा द्रूत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ । केन्द्रका अनुसार देशभरी औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् । १४९ पालिकामा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ ।
अझै ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको भन्दै केन्द्रले ११ प्रतिशत बिरामी र तिनका परिवारलाई आर्थिक भार, सामाजिक भेदभाव र पर्याप्त स्रोतसाधनको अभावले चुनौती थपिँदै गएको जनाएको छ ।


