
काठमाडौं। बाढीका कारण आज बिहान साढे तीन बजेदेखि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।शुक्रबार दिउँसोदेखिको वर्षापछिको बाढीले काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायतका ठाउँमा सडक अवरुद्ध बनेको हो।
ठाउँठाउँमा खसेको पहिरो र रोशी खोलाको बाढीले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। ०८१ साल असोज १२ गते रोशीमा आएको ठूलो बाढीले बीपी राजमार्ग क्षतविच्छत भएको छ।सडक बाढीले बगाउँदा डाइभर्सनबाट गाडी चल्दै आएका थिए। त्यही डाइभर्सन सडक पनि गएराति बाढीले बगाउँदा रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगामा सडक अवरुद्ध बनेको हो।
प्रहरीले आज बिहानबाट सम्बन्धित निकायबाट सडक खुलाउने कार्य भइरहेको जनाएको छ। अहिले बीपी राजमार्ग पूर्णरुपमा अबरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न र सडकको अवस्था बुझेरमात्र यात्रा गर्न यात्रुहरुलाई अनुरोध गरेको छ।सडक अवरुद्ध हुँदा यतिबेला सयौँ सवारी साधन काभ्रेका विभिन्न ठाउँमा रोकिएका छन्।


