
झापा । मध्यपूर्वमा युद्ध थप चर्किएसँगै खाडीका क्षेत्रदेखि युरोपसम्म असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ तीव्र बनेका छन् । जसले क्षेत्रीय सुरक्षा मात्र नभई, विश्वव्यापी स्थायित्वमा पनि चिन्ता बढाएको छ । ऊर्जा क्षेत्रमा युद्धको प्रभाव स्पष्ट देखिएको छ ।
कतारका ऊर्जामन्त्री साद सेरिदा अल–काबीले ऊर्जा संरचनामा भएको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घट्ने र पूर्ण मर्मतमा तीनदेखि पाँच वर्ष लाग्ने बताउनुभएको छ ।
क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय समुद्री मार्गमा समेत जोखिम बढाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अपेक्षाभन्दा छिटो अन्त्यतर्फ उन्मुख भएको दाबी गर्नुभएको छ ।
उहाँले इरानले ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेर विश्वलाई दबाबमा पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै यस्तो प्रयास असफल हुने प्रतिक्रिया दिनुभएको छ । नेतान्याहूले इरानको ग्यास खानीमा भविष्यमा आक्रमण नगर्न आफू तयार भएको पनि बताउनुभयो । उहाँका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधपछि इजरायल त्यसका लागि सहमत भएको हो ।
फ्रान्सका राष्ट्रपति इमानूएल म्याक्रोनले होर्मुज क्षेत्रको सुरक्षा केन्द्रित संयुक्त राष्ट्रसङ्घको संरचना स्थापना गर्ने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यसँग छलफल गर्ने योजना अघि बढाइएको जानकारी दिनुभएको छ ।
युरोपेली सङ्घ (ईयू) का नेताहरूले सन् २०१५ जस्तै आप्रवासन सङ्कट दोहोरिन सक्ने चिन्ताबीच अनियन्त्रित आप्रवासी आवागमन रोक्न कूटनीतिक, कानूनी, परिचालन र आर्थिक सबै संयन्त्र पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।


