
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पनि जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गर्नु भएको छन् ।
उहाँले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जनामाथि अनुशासनको कारबाही माग गर्दै केन्द्रमा निवेदन दिनु भएको छ ।
उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम पनि उल्लेख छ । निर्वाचन हराउनका लागिपरेका भन्दै उहाँले पत्रमा लेख्नु भएको छ, ‘तत्काल यिनीहरूलाई पार्टीको सदस्यताबाट निलम्बन गरिदिन हुन अनुरोध गर्दछु ।’
यस्तै क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई र जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मा माथि पनि कारबाही गरिनुपर्ने उहाँको माग छ ।
यसअघि बारा–२ का उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले पनि जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्नु भएको थियो ।
त्यसअघि बारा सभापतिसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा–३ को क्षेत्रीय कार्यसमितिले पनि केन्द्रसमक्ष सिफारिस गरेको थियो ।


