२०८२ चैत ४ बुधवार , ०६:४८:५६ बजे

Sajhamanch
'

अनुशासन उल्लङ्घन गर्ने सांसदलाई फिर्ता बोलाउने रास्वपा सभापति लामिछानेको चेतावनी

बुधवार, चैत ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिनुभएको छ ।

पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा पदबाट फिर्ता बोलाउने बताउनुभएको हो । पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उहाँले हरेक सांसद अनुशासनमा बस्नुपर्ने उल्लेख गर्नुभयो ।

रास्वपा विधानमा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ ।

जथाभाबी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो । शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने उहाँको भनाइ छ ।

अहिले नागरिकमा अब्बल चेतना बढेको र आफूहरूले गलत कदम उठाए नागरिकले केही महिना पनि नकुर्ने भन्दै सभापति लामिछानेले आफूहरूको पूरा ध्यान नागरिकको आवश्यकता परिपूर्तिमा लाग्नुपर्ने बताउनुभयो ।

सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै उहाँले आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको उल्लेख गर्नुभयो ।

आफूहरू मिल्न नसकेमा र स्वार्थको बन्दी बनेमा मात्रै समस्या हुने भन्दै सभापति लामिछानेले यसबारेमा आफूहरू संवेदनशील रहेको बताउनुभयो । यस्तै अहिलेसम्म मन्त्रिमण्डलमा को को हुने भन्ने टुङ्गो नलागेको भन्दै उहाँले नेताकोमा वा सञ्चारमाध्यममा गएर मन्त्री पद चाहिन्छ नभन्न सचेत गराउनुभयो ।