
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिनु भएको हो ।
उहाँहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ,’ भन्नु भएको थियो ।
उहाँले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संयोजक प्रचण्डले भन्नु भएको थियो, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’


