२०८२ चैत २ सोमवार , ०७:२१:२४ बजे

Sajhamanch
'

इजरालय र अमेरिकाको आक्रमणपछि इरानमा कालो वर्षा

सोमवार, चैत २, २०८२

झापा ।  अमेरिका र इजरायलको आक्रमणपछि इरानका विभिन्न ठाउँमा कालो वर्षा हुन थालेको छ । इजरायली वायुसेनाले मार्च ८ मा तेहरानको शाहरान तेल प्रशोधन कारखाना र थुप्रै इन्धन भण्डारण केन्द्रहरूमा हवाई आक्रमण गरेपछि उठेको विशाल कालो धुवाँ वायुमण्डलमा फैलिएपछि यो हप्ता कालो वर्षा भएको हो ।

विशेषज्ञहरूका अनुसार तेलमा भएका विषाक्त रसायनहरू वायुमण्डलको पानीका थोपासँग घुलमिल भएपछि एसिडयुक्त वर्षा भएको हो । यो वर्षामा क्यान्सर उत्पन्न गर्न सक्ने बेन्जिन, एसिटोन र मेथिलिन क्लोराइडजस्ता घातक रसायनहरू रहेको पुष्टि भएको छ ।

तेहरानका बासिन्दाहरूले घाँटी दुखेको, आँखामा जलन र सास फेर्न गाह्रो भएको गुनासो गरिरहेका छन् । यो विषाक्त पानीले खानेपानीका जलाशय र नदीहरू दूषित गर्ने खतरा बढेको छ । इरान रेड क्रिसेन्ट सोसाइटीले बासिन्दाहरूलाई घरभित्रै बस्न, झ्यालढोका बन्द गर्न र खुल्ला पानी नपिउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायुमण्डलमा हाइड्रोकार्बन र सल्फर अक्साइडजस्ता हानिकारक तत्वहरू ठूलो मात्रामा फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ । यसबाट जनस्वास्थ्यमा गम्भिर असर गर्ने डब्लूएचओको चेतावनी छ ।

संयुक्त राष्ट्र मानवाधिकार कार्यालयले यो आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको हुन सक्ने भन्दै अनुसन्धानको माग गरेको छ । यो घटनाले युद्धको मानवीय र वातावरणीय मूल्यबारे अन्तर्राष्ट्रिय समुदायमा नयाँ बहस शुरू भएको छ ।

सम्बन्धित खबर