
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताउनुभएको छ ।
ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गर्नुभएको छ । ‘हर्मुजबाट’ तेल प्राप्त गर्ने देशहरूले यसको ख्याल राख्नुपर्ने उहाँको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा अमेरिकाले इरानको सैन्य शक्तिलाई नष्ट गरिसकेको दाबी गर्नुभएको छ ।
‘स्ट्रेट अफ हर्मुज’ ले विश्वव्यापी समुद्री तेल व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि यो मार्ग भएर आउजाउ गर्र्ने जहाजहरूमा आक्रमण भइरहँदा विश्वव्यापी रूपमा चिन्ता बढेको छ ।
युद्ध शुरू भएदेखि नै यस क्षेत्रमा जहाजहरूमाथि आक्रमण भइरहेका छन् । यसअघि बिहीवार इरानका सर्वोच्च नेताले सत्ता सम्हालेपछिको पहिलो वक्तव्यमा ‘स्ट्रेट अफ हर्मुज’ लाई निरन्तर अवरुद्ध राख्ने बताउनुभएको थियो ।
यसैबीच युद्ध शुरू भएको १५ दिन पुग्दा मध्यपूर्वभरि आक्रमण भइरहेका छन् । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।
यस्तै अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानका पीडितका लागि झन्डै ३० करोड डलर बराबरको आपत्कालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षसँग तत्काल युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।


